धनगढी । आफ्ना खेलाडी कारबाही गरेको भन्दै काठमाडौं गोल्डेन्सले तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको दोस्रो क्वालिफायर्स खेल बहिस्कार गरेको छ ।
भारतीय बलर अंकित दबासलाई बलिङमा प्रतिबन्ध लगाएको भन्दै काठमाडौंले महेन्द्रनगर युनाईटेडविरुद्धको क्वालिफायर्स खेल बहिस्कार गरेको हो । फाप्ला क्रिकेट मैदानमा शुक्रबार काठमाडौंले महेन्द्रनगर युनाईटेडसंग प्रतिस्पर्धा गर्ने खेल तालिका रहेको थियो ।
दबासको बलिङ शंकास्पद रहेको पाइएपछि आयोजक डीपीएलले बिहिबार उनलाई प्रतिबन्ध लगाएको थियो । डीपीएलको प्राविधिक कमिटिले काठमाडौंले खेलेको २ फरक खेलमा दबासको बलिङ एक्सन अनाधिकृत रहेको पाईएको जनाएको थियो ।
तर, काठमाडौंका टिम व्यवस्थापक संजय श्रेष्ठले आयोजकले टिमसंग छलफल र कारबाही हुने खेलाडीलाई सुधारको लागि कुरा नगरी प्रतिबन्ध लगाएको कारण टिमले नखेल्ने निर्णय गरेको बताए ।
'भारतको रणजी ट्रफी लगायतका ठुला क्रिकेट खेलिसकेका खेलाडी हुन् । उनको बलिङ एक्सनमा समस्या भए सुधारको लागि अवसर दिनु पर्थ्यो,' श्रेष्ठले भने, 'तर, खेलाडीलाई सुधारको मौका नदिएर प्रतिबन्ध लगायो । यसले टिमलाई र खेलाडीलाई घाटा भएको छ । जसको कारण हामीले नखेल्ने निर्णय गरेको हो ।'
व्यवस्थापक श्रेष्ठले मैदानको अवस्था खराब रहदा पनि आईसीसीको नियम पालना नगरी खेल खेलाएको बताए । यस्तै व्यवस्थापक श्रेष्ठले काठमाडौंले आयोजक नसुध्रिए डीपीएलको कुनै पनि संस्करण नखेल्ने बताए ।
काठमाडौंले बहिस्कार गरेसंगै महेन्द्रनगर फाइनलमा प्रवेश गरेको छ । महेन्द्रनगरले उपाधिका लागि सीवाईसी अत्तरियासंग शनिबार खेल्नेछ ।
काठमाडौंका टिम व्यवस्थापक के भन्छन् ?