काठमाडौं । आईसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालले अहिले संयुक्त अरब ईमिरेट्स युएईसंग प्रतिस्पर्धा गरिरहेको छ ।
थाईल्याण्डको ट्रेडथाई क्रिकेट मैदानमा युएईले नेपाललाई जितका लागि ४२ रनको सामान्य लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युएई १७ ओभर ३ बलमा अलआउट हुँदै ४१ रनमा समेटियो ।
युएईका लागि चामनी रोशनी सिनिभिरत्नाले सर्वाधिक १३ रन जोडिन । अन्य ब्याट्सवुमनले दोहोरो अंक जोड्न सकेनन् । यस्तै युएईका नेहा शर्माले ६ रन तथा इशानी सिनिभिरत्ना र काभिषा कुमारीले समान ४/४ रन जोडिन ।
युएईलाई सस्तैमा समेट्न नेपालकी नेरी थापाले ३ ओभर ३ बलमा ६ रन खर्चेर ४ विकेट लिईन् । यस्तै सिता राना मगर, सोनु खड्का र कृष्णा कुँवरले २/२ विकेट लिए ।
छनोट प्रतियोगिताका सुरुवाती तीन खेल जितेर युएई बलियो अवस्थामा छ । उसले ३ खेलबाट ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ ।
युएईविरुद्व जित निकाल्दै प्रतियोगितामा उत्कृष्ट पुनरागमन गर्ने अवसर नेपाललाई प्राप्त छ । अघिल्लो महिना थाईल्याण्डमै भएको टी ट्वान्टी स्म्यासमा नेपालले युएईलाई ६ विकेटले पराजित गरेको थियो ।
तर छनोटको सम्भावना जिवितै राख्न नेपालले थाईल्याण्डको हारको कामना गर्नुको विकल्प समेत छैन ।
नेपाल भने आफ्नो दोस्रो खेलमा थाईल्याण्डसंग पराजित हुँदै छनोट प्रतियोगिताको दौडमा कमजोर बनेको छ । बिहिबार भएको खेलमा नेपाली टिम थाईल्याण्डसग ५७ रनले पराजित भएको थियो । आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई ३४ रनले हराएको थियो ।
प्रतियोगिताको एसिया छनोटमा ७ राष्ट्रले भाग लिएका छन् । राउण्ड रोबिनको आधारमा शीर्ष स्थानमा रहने टिमले आईसीसी विश्वकपको ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्न पाउनेछ ।