काठमाडौँ । सहिद स्मारक बी डिभिजन लिगमा आज (शुक्रबार) दुई खेल हुँदैछन् । प्रतियोगिताको अन्तिम चरणका दुवै खेल सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा हुनेछ ।
राउण्ड रोबिन लिगका आधारमा खेलाइएको प्रतियोगिताको दुई समुहका विजेता र उपविजेता दोस्रो चरणमा प्रवेश पाउनेछन् ।
शुक्रबार हुने पहिलो खेलमा झम्सिखेल युथ टिम र रानिपोखरी कर्नर टिम आरसीटी क्लब भिड्दैछन् । समुह ए को खेलमा आजको खेल दुबै टिमका लागि महत्वपुर्ण रहेको छ । झम्सिखेलले जित निकालेमा दोस्रो चरणमा ढोका सहजै खुल्नेछ ।
आरसीटीलाई भने दोस्रो चरण पुग्न आजको खेलमा जित अनिवार्य छ । दुई खेल जित दुई बराबरी खेलेको झम्सिखेल ८ अंकका साथ तालिकाको शीर्षस्थानमा छ । एक खेल जित दुई बराबरीका साथ आरसिटी तेस्रो स्थानमा छ ।
आजै हुने दोस्रो खेलमा अघिल्लो चरण पुगिसकेको टुसाल युथ क्लबले पुल्चोक स्पोर्टस क्लबसंग प्रतिस्पर्धा गर्नेछ । खेल दिउसो साँढे ३ बजे हुनेछ । समुह बीको खेलमा शीर्षस्थानको टुसाल क्लब एक खेल अघिनै अघिल्लो चरणमा पुगिसकेको हो ।
टुसालको तीन खेल जित एक बराबरीका साथ १० अंक रहेको छ । पुल्चोकको भने दुई जित, दुई हारका साथ समुह बीको चौथो स्थानमा रहेको छ । जित हासिल गरेमा पुल्चोकको अघिल्लो चरण प्रवेशको सम्भावना बाँकी रहनेछ ।