धनगढी । संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको दोस्रो क्वालिफायर्समा आज (शुक्रबार) काठमाडौं गोल्डेनन्स र महेन्द्रनगर युनाईटेडबीच प्रतिस्पर्धा हुँदैछ ।
फाप्ला क्रिकेट मैदानमा काठमाडौं र महेन्द्रनगरबीचको खेल अपरान्ह १२:३० मा हुनेछ । र, दुवै टोली फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रनेछ ।
काठमाडौं र महेन्द्रनगरबीचको विजेताले उपाधिका लागि सीवाईसी अत्तरियासंग शनिबार खेल्नेछ । पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने छ ।
अत्तरिया पहिलो क्वालिफायर्समा काठमाडौंलाई ४१ रनले हराएर उपाधि नजिक पुगिसकेको छ । पहिलो क्वालिफायर्समा पराजित भएपनि प्रतियोगिताको नियम अनुसार काठमाडौंले दोस्रो क्वालिफायर्स खेल्ने मौका पाएको हो ।
ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं महेन्द्रनगरविरुद्ध जित निकाल्दै अत्तरियासंगको भेट पक्का गर्न चाहन्छ । यस्तै काठमाडौं महेन्द्रनगरविरुद्ध समूह चरणको नतिजामा कायम राख्ने योजनामा हुनेछ । काठमाडौंले समूह चरणको खेलमा महेन्द्रनगरलाई ७ रनले हराएको थियो ।
शरद भेषावकरको महेन्द्रनगर भने इलिमिनेटरमा रुपन्देही च्यालेन्जर्सलाई १ रनले हराएर क्वालिफायर्समा पुगेको हो । महेन्द्रनगर पनि काठमाडौंलाई हराएर फाइनल पुग्ने लक्ष्यमा हुनेछ ।
यस्तै महेन्द्रनगर काठमाडौंसंग समूह चरणमा व्यहोरेको हारको बदला लिने दाउमा समेत हुनेछ ।