काठमाडौं । भुटानमा जारी जिग्मे दोर्जी बाङ्गचुक स्मृति गोल्डकप फुटबलको फाईनल खेल आज (शुक्रबार) हुदैछ । उपाधि भिडन्तमा नेपालको रुस्लान थ्रीस्टार र भारतको पारो फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
खेल पीएसए मैदान फुयलथोलिङमा नेपाली समय अनुसार दिउँसो ३ बजेर २० मिनेटमा सुरु हुनेछ ।
भारतको युनाईटेड ब्रर्दशलाई पराजित गर्दै थ्री स्टार फाईनल प्रवेश गरेको हो । पारोले नेपालकै विभागीय टिम आर्मीलाई पराजित गर्दै थ्री स्टारसंग उपाधि भिडन्त पक्का गरेको हो ।
पारोको गोलपोस्टको जिम्मेवारी नेपालका युवा गोलकिपर अर्पण कार्कीले सम्हालेका छन् । उनी यस प्रतियोगिता मात्र खेल्न भुटान पुगेका थिए । उनकै उत्कृष्ट प्रर्दशनमा पारोले फाईनलसम्मको यात्रा तय गरेको हो ।
प्रतियोगिताका लागि नेपालबाट थ्री स्टार र आर्मीले सहभागिता जनाएका थिए ।
सहिद स्मारक ए डिभिजन लिगमा राम्रो नतिजा निकाल्न नसकेको थ्री स्टार विस्तारै लयमा देखिन थालेको छ ।
दुई नयाँ डिफेन्डर अनन्त तामाङ र दिनेश राजवंशीलाई क्लबमा भित्राएपछि थ्री स्टार रक्षात्मक रुपमा बलियो देखिन थालेको छ । अफ्रिकन खेलाडी पिटर सेगुन र अजायी मार्टिन समेत पुरानै फर्ममा देखिन थालेका छन् ।
मोफसलमा सिमरा गोल्डकप जितेको थ्री स्टार खप्तड गोल्डकपमा भने उपविजेता बनेको थियो ।