काठमान्डौ । पाकिस्तान सुपर लिगमा आज (शुक्रबार) नेपाली लेग स्पिनर सम्मिलित टोली लाहोर क्वालेण्डर्सले लिग चरणको आफ्नो चौथो खेल खेल्दैछ । सन्दिप सम्मिलित लाहोरले मुल्तान सुल्तानससंग नेपाली समय अनुसार बेलुका सवाँ ५ बजे खेल्न लागेकाे हाे ।
मुल्तानविरुद्वको खेलमा सन्दिपले प्लेईङ ११ मा स्थान बनाउने प्रबल सम्भावना छ । लिग भने फेब्रुअरी १४ बाट सुरु भएको हो । लाहोर तीन खेलमा मात्र एक जित निकाल्दै अंक तालिकाको पुछारमा रहेको छ ।
अघिल्लो हप्ता सकिएको बिग बास लिगको उपविजेता टिम मेलबर्न स्टार्सबाट सन्दीपले पछिल्लो प्रतियोगिता खेलेका थिए । सो प्रतियोगिताका ८ खेलमा उनले ११ विकेट लिन सफल रहेका थिए । बिग बासका कारण सन्दीपले पीएसएलमा लाहोरबाट ३ खेल गुमाएका थिए ।
सन्दीप पीएसएल खेल्ने एसोसिएट राष्ट्रका एक मात्र खेलाडी हुन । नेपालका अर्का प्रतिभावान खेलाडी सोमपाल कामी पनि पीएसएलको ड्राफ्टमा परेका थिए । तर उनलाई कुनै टिमले पनि बोली लगाएनन् ।
गत बर्ष भएको तेश्रो संस्करणको पीएसएल ड्राफ्टमा समेत परेका सन्दीपलाई कुनै टिमले पनि बोली लगाएका थिएनन् ।
१० महिना अघि भारतको इन्डियन प्रिमिएर लिग (आइपिएल) बाट टी ट्वान्टी अन्तराष्ट्रियमा प्रतियोगितामा डेब्यु गरेका उनी हालसम्म क्यारिबियन प्रिमिएर लिग (सिपिएल) मा सेन्ट किट्स एण्ड नेविज प्याट्रियट्स, बीबीएलमा मेलबर्न स्टार्स, क्यानाडाको ग्लोबल टी–ट्वान्टीमा मोन्टेरिएल टाइगर्स, अफगानिस्थान प्रिमिएर लिगमा नाङ्गर लियोपार्ड्स र घरेलु प्रतियोगितामा बिभिन्न टिमबाट आफ्नो प्रतिभा देखाइसकेका छन् ।
पीएसएलमा सन्दिप रहेको टिममा कोरी एण्डर्सन, एबीडी भिलयर्स, कार्लोस ब्रेथवेट, यासिर साह जस्ता खेलाडी सामेल छन् । शुक्रबार हुने खेलमा प्लेईङ सेटमा स्थान बनाए पीएसएलमा डेब्यु गर्ने उनी पहिलो नेपाली खेलाडी बन्नेछन् ।