काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फा कारबाहीका लागि लचिलो बन्दा क्यामरुनको दाउफिन्स फेमिलीले घरेलु फुटबलमा मोफसल प्रतियोगिता खेलिरहेको छ । लिग सकिए लगत्तै सुरु भएको मोफसलको प्रतियोगिता खेल्न नेपाल आएको दाउफिन्सले एन्फाको अनुमति बिनै हालसम्मका सबै प्रतियोगितामा सहभागि जनाईरहेको हो ।
सुदुरपश्चिम ११ क्लबले खप्तड गोल्डकप खेल्न क्यामरुनको दाउफिन्सलाई नेपाल बोलाएको थियो । तर खप्तड पछाडी दाउफिन्सले स्विकृतीबिनै मोफसलका प्रतियोगितामा सहभागिता जनाईरहेको छ ।
‘यो घटना नेपाली फुटबलमा नयाँ हो । क्लबको दर्ताको बिषयमा हामीले बुझिरहेका छौ ।’ एन्फाका महासचिव ईन्द्रमान तुलाधरले खेलपाटीसंग भने, ‘दाउफिन्सको बिषयमा हामीले आन्तरिक रुपमा छलफल गरिरहेका छौ । चाँडै आवश्यक निर्णयमा पुग्नेछौ ।’
खप्तड लगत्तै राष्ट्रिय खेलकुद परिषदको स्विकृतीमा दाउफिन्सले मदन भण्डारी स्मृति इटहरी गोल्डकप खेलेको थियो ।
दाउफिन्सको आधिकारिताको बिषयमा एन्फाले क्यामरुन फुटबल संघसंग समेत पत्राचार गरेको छ ।
‘क्यामरुन फुटबल संघको अनुमति सहितको पत्र मागेका थियौ तर सामान्य पत्र मात्र आएको छ । हामीले फुटबल संघको लेटर प्याडमा प्रतियोगितामा सहभागिताको पत्र मागेका छौ ।’ तुलाधरले थपे ।
क्लबको आधिकारिताको पत्र नआएपछि एन्फाले क्यानरुनको फुटबल संघलाई आज (बिहिबार) मात्र पत्र पठाएको छ ।
घरेलु प्रतियोगिता खेल्न एन्फाको अनुमति आवश्यक भएपनि दाउफिन्सले अनाधिकृत रुपमा मोफसलका प्रतियोगितामा सहभागिता जनाएको हो ।
खप्तड गोल्डकप खेल्न पहिलो पटक नेपाल आएको दाउफिन्सले त्यसपछि लगातार ५ मोफसलका प्रतियोगिता खेलेको छ । जसमा उसले दुई उपाधि मनकामना पोखरा कप र बुढा सुब्बा गोल्डकपको उपाधि जितेको छ ।
प्रशिक्षक बिनानै मोफसलको प्रतियोगिता खेल्दै आएको उसले बुढासु्ब्बा गोल्डकपको अन्तिम समयमा क्यामरुनबाट प्रशिक्षक झिकाएको थियो । पोखरा कपको सेमिफाईनल खेल्दा दाउफिन्ससंग दोस्रो जर्सी नहुदाँ आयोजकको जर्सी लगाएर दाउफिन्सले मनाङविरुद्वको म्याच खेलेको थियो ।
टिममा अहिले १८ खेलाडी, एक प्रशिक्षक र नेपाली एक स्थानिय संयोजक रहेको छन् । दाउफिन्स टिमलाई नेपाल झिकाउने काम फुटबल एजेण्ड नेपाल नामक संस्थाले गरेको हो ।