काठमाडौं । आयोजक सहारा क्लब पोखरालाई सडन डेथमा पराजित गर्दै विभागीय टोली एपीएफ १७ औँ संस्करणको आहा रारा गोल्डकपको क्वार्टरफाईनल प्रवेश गरेको छ ।
बिहीबार पोखरा रंगशालामा भएको उद्घाटन खेलमा आयोजक टोली विभागीय टिमसंग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरमा गरिएको थियो ।
सडन डेथमा आयोजक क्लबका अन्जन देवकोटा चुकेपछि एपीएफले अन्तिम ८ मा स्थान पक्का गरेको हो । एपीएफका सुदिप सिख्राकार, सन्तोष कटवाल, पासाङ्ग लामा र आशिष लामाले गोल गरे । परिवर्तित गोलकिपर रोमन रसाइली पेनाल्टीमा चुके ।
आयोजकका साहिद, पदम भण्डारी, अनिल गुरुङ र विष्णु गुरुङले गोल गर्दा सुशील लामा गोल गर्न चुके । शुक्रबार हुने खेलमा धरान ११ र हिमालयन शेर्पा क्लब भिड्नेछन् ।
प्रतियोगिताको विजेता टिमले ८ लाख र उपविजेता टिमले ४ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रत्येक खेलको म्यान अफ दि म्याचले ५ हजार रुपैयाँ र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ थान स्कुटर प्राप्त गर्ने आयोजकले जनाएको छ ।