काठमाडौं । नेपाली फुटबल टिमका मुख्य प्रशिक्षकमा नियुक्त भएका योहान कालिन नेपाल आईपुगेका छन् । अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेपछि कालिन पहिलो पटक नेपाल आएका हुन् ।
नेपाली फुटबललाई अघि बढाउन र साफ च्याम्पिनसिप जित्ने लक्ष्य सहित एन्फाले नेपाली फुटबल टिमको जिम्मेवारी कालिनलाई दिएको हो ।
बिहिबार अपरान्ह त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एन्फाका अन्तराष्ट्रिय विभाग प्रमुख नविन पाण्डे र कार्यसमिति सदस्य दावा लामा लगायतले कालिनलाई स्वागत गरेका थिए ।
२०७० सालमा ए डिभिजन क्लब मछिन्द्रको मुख्य प्रशिक्षकको रुपमा काम गरेका कालिनलाई नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक बनाउने निर्णय एन्फाले गरेको थियो ।
उनलाई करिब दुई बर्षका लागि एन्फाले टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो । उनले २०१९ मार्च १ बाट २०२१ फेब्रुअरी २८ सम्म नेपाली टिमको नेतृत्व गर्नछन् ।
२०७० सालमा ए डिभिजन क्लब मछिन्द्रबाट मुख्य प्रशिक्षकको रुपमा काम गरेका कालिनले सनसनीपुर्ण नतिजा निकालेका थिए । उनकै नेतृत्वमा मछिन्द्रले दोस्रो स्थानमा रहेर लिगको समापन गरेको थियो ।
स्विडेनको तेस्रो डिभिजन क्लबबाट व्यवसायीक प्रशिक्षण सुरु गरेका उनले सन् २०१० मा युईएफए ए डिप्लोमा गरेका छन् ।