काठमाडौं । डा ता आओ अन्तराष्ट्रिय फुटलब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरेको एन्फाको यु–२३ टिमले फराकिलो जित आत्मसाथ गरेको छ । एलएनआईपीई रंगशालामा बिहिबार भएको समुह चरणको आफ्नो दोस्रो खेलमा नेपालले भारतको त्रिपुरा क्लबलाई ८–० गोल अन्तरले पराजित गरेको हो ।
नेपालको फराकिलो जितमा अभिषेक रिजालले ह्याट्रिक गरे ।
प्रिजेन तामाङले खेलको चौथो मिनेटमा गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । उनले नितिन थापाको पासलाई सदुपयोग गर्र्दै गोल गर्न सफल भए । ३१ औ मिनेटमा रेजिन सुब्बाले गोल गर्दै पहिलो हाफमै नेपाललाई २–० को अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा विभागीय टिम पुलिसबाट खेल्ने स्ट्राईकर अभिषेक रिजाल चम्किए । ५२ औ मिनेटमा गोल गर्दै अभिषेकले नेपालको युवा टोलीलाई ३–० को स्थितीमा पु¥याएका थिए । ६७ औ मिनेटमा प्रिजेनले व्यक्तिगत दोस्रो गोल गरे ।
६६ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका अभिषेकले ६९ औ मिनेटमा ह्याट्रिक पुरा गरेका थिए । धिरज श्रेष्ठले ७७ औ मिनेटमा नेपालका लागि सातौ गोल गरे । लगत्तै अर्को मिनेटमा अभिषेकले व्यक्तिगत चौथो गोल गर्दै युवा टोलीलाई ८–० को फराकिलो जितको रेखा कोरे ।
पहिलो खेलमा मेघालयसंग पराजित भएपछि मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले त्रिपुराविरुद्ध प्लेईङ सेटमा दुई खेलाडीलाई परिवर्तन गरेका छन् । उनले गोलकिपरमा विष्णु कुमार केसी र स्ट्राइकरमा प्रिजेन तामाङलाई मौका दिएका हुन् ।
पहिलो खेलमा नेपाली टिम मेघालयसंग पराजित भएको थियो । नेपालले आफ्नो तेस्रो खेलमा आगामी शनिबार मनिपुरसंग खेल्नेछ ।