धनगढी । तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको इलिमिनेटरमा महेन्द्रनगर युनाईटेडले रुपन्देही च्यालेन्जर्सलाई जितका लागि ११६ रनको लक्ष्य दिएको छ ।
फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको महेन्द्रनगरले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर ११५ रन बनायो ।
खराब सुरुवात गरेको महेन्द्रनगरका लागि कप्तान शरद भेषवाकरले अविजित २९ रन जोडे । शरदले सातौं विकेटका लागि अमर सिंह रौटेलासंग मिलेर ४९ रनको साझेदारी गर्दै टोलीको इनिङस उकासेका थिए । अमर १९ रनमा आउट भए ।
यस्तै आनन्द सुब्रमन्युले २० रन जोड्दा मोहमद नाभिदले १८ रन बनाए । अविनाश बोहोरा र आरिफ शेख ११/ ११ रनमा आउट भए ।
रुपन्देहीका ललित भण्डारी एक्लैले ४ विकेट लिए । यस्तै पुनित मेहेराले ३ तथा कप्तान बसन्त रेग्मीले एक विकेट लिए ।
आज दुवै टोली जित निकाल्दै क्वालिफायर्स पुग्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
लिगको तेस्रो स्थानमा रहदै प्ले अफमा स्थान बनाउन सफल रुपन्देही महेन्द्रनगरविरुद्ध मैदान उत्रदा समूह चरणको नतिजालाई कायम राख्ने लक्ष्यमा हुनेछ । समूह चरणको भेटमा रुपन्देहीले महेन्द्रनगरलाई २ रनले हराएको थियो ।
यता,महेन्द्रनगर भने समूह चरणमा व्यहोरेको हारको बदला लिने योजनामा हुनेछ । लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्न नसकेको महेन्द्रनगर राम्रो नेट रन रेटको आधारमा चौथो स्थानमा रहेर प्ले अफ पुगेको हो । महेन्द्रनगर लिग चरणको प्रदर्शनलाई बिर्साउने लक्ष्यमा समेत हुनेछ ।
रुपन्देही र महेन्द्रनगरबिचको विजेताले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर्समा काठमाडौं गोल्डेनन्सको सामना गर्नेछ ।
काठमाडौं पहिलो क्वालिफायर्समा सिवाईसी अत्तरियासंग ४१ रनले पराजित भएपनि दोस्रो क्वालिफायर्स खेल्ने मौका पाएको हो । अत्तरिया भने शनिबार हुने फाइनलमा प्रवेश गरिसकेको छ ।