काठमाडौं । आहा रारा गोल्डकप फुटबलको १७ औँ संस्करण आज (बिहीबार) सुरु हुँदैछ । पोखरा रंगशालामा हुने उद्घाटन खेलमा आयोजक सहारा क्लब र विभागीय एपीएफ क्लब भिड्ने तय भएको छ ।
खेल दिउँसो २ बजे सुरु हुने छ । कार्यक्रमको औपचारिक उद्घाटन समारोह दिउँसो एक बजे सुरु हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेता टिमले ८ लाख र उपविजेता टिमले ४ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रत्येक खेलको म्यान अफ दि म्याचले ५ हजार रुपैयाँ र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ थान स्कुटर प्राप्त गर्ने आयोजकले जनाएको छ ।
यस्तै उत्कृष्ट पाँच विधागततर्फका खेलाडीले नगद १५ हजार सहित ट्रफी र प्रमाण–पत्र पाउनेछन् । सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतियोगितामा लिग विजेता मनाङ्ग मस्र्याङ्गदी क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, पुलिस क्लब, धरान फुटबल क्लब, युनाईटेड सिक्किम, थ्री स्टार क्लब, सहारा क्लब, दाउफिन्स फेमिलि र हिमालयन शेर्पा क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा प्रि क्वार्टरफाईनल खेलको टिकट दर ८० रुपैयाँ राखिएको छ । क्वार्टरफाइनलको सय, सेमिफाईनल. १ सय ५० र फाईनलको २ सय रुपैयाँ टिकट दर राखिएको आयोजकले जनाएको छ ।