काठमाडौं । आईसीसी महिला विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको दोस्रो खेलमा नेपालले अहिले घरेलु टोली थाइल्याण्डसंग प्रतिस्पर्धा गरिरहेको छ ।
बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा थाइल्याण्डले नेपाललाई जितका लागि १२५ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १२४ रन बनायो । थाइल्याण्डको लागि चानिदा सिथुरुवाङले ३५ रन जोडिन । यस्तै नारुमोल चाईमाईले ३२ रन जोड्दा वाङपाका लिङप्रार्सटले २८ रनमा अविजित रहिन् ।
नटया बोचाथाम १२ रनमा आउट भईन् । नेपालकी नेरी थापा र कृष्णा कुवरले २/२ विकेट लिईन् । कप्तान रुबिना क्षेत्री र करुणा भण्डारीले १/१ विकेट लिईन् ।
घरेलु टोलीविरुद्ध मैदान उत्रदा नेपाल लगातार दोस्रो जितको खोजीमा रहेको छ । पहिलो खेलमा मलेसियालाई ३४ रनले पराजित गर्दै नेपालले सुखद सुरुवात गरिसकेको छ ।
तर, बलियो थाइल्याण्डविरुद्ध जित निकाल्न नेपालले कठिन चुनौती पन्छाउनु पर्ने हुन्छ । थाईल्याण्डले गत महिना वुमन्स टी- ट्वान्टी स्म्यास प्रतियोगितामा नेपाललाई ७० रनले पराजित गर्दै उपाधि उचालेको थियो ।
यस्तै थाइल्याण्ड पनि दोस्रो जितको खोजीमा रहेको छ । थाइल्याण्डले पहिलो खेलमा चीनलाई ६ विकेटले पराजित गरेको थियो ।
दुई खेलमा दुई जितका साथ युएई अंक तालिकाको पहिलो स्थानमा छ । समान एक जित निकालेको नेपाल र थाइल्याण्ड नेट रन रेटका आधारमा क्रमश दोश्रो र चौथो स्थानमा छन् ।
राउण्ड रोबिनको आधारमा हुने छनोटको बिजेताले आईसीसी महिला टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ ।