काठमाडौं । आईसीसी महिला विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको दोस्रो खेलमा नेपालले अहिले घरेलु टोली थाइल्याण्डसंग प्रतिस्पर्धा गरिरहेको छ ।
बैंककस्थित एसियन इन्स्टिच्युड अफ टेक्नोलोजीको मैदानमा टस जितेर पहिले ब्याटिङ गरिरहेको थाइल्याण्डले पहिलो विकेट गुमाएको छ । थाइल्याण्डले पहिलो विकेटको रुपमा ओपनर नारुमोल चाईमाईलाई गुमाएको हो । नेपाललाई करुणा भण्डारीले पहिलो सफलता दिलाएकी हुन् । चाईमाई ३२ रनमा आउट भईन् ।
थाइल्याण्डले ७ ओभरमा १ विकेट गुमाएर ३९ रन जोडेको छ ।
घरेलु टोलीविरुद्ध मैदान उत्रदा आज नेपाल लगातार दोस्रो जितको खोजीमा रहेको छ । पहिलो खेलमा मलेसियालाई ३४ रनले पराजित गर्दै नेपालले सुखद सुरुवात गरिसकेको छ ।
तर, बलियो थाइल्याण्डविरुद्ध जित निकाल्न नेपालले कठिन चुनौती पन्छाउनु पर्ने हुन्छ । थाईल्याण्डले गत महिना वुमन्स टी- ट्वान्टी स्म्यास प्रतियोगितामा नेपाललाई ९ विकेटले पराजित गर्दै उपाधि उचालेको थियो ।
यस्तै थाइल्याण्ड पनि दोस्रो जितको खोजीमा रहेको छ । थाइल्याण्डले पहिलो खेलमा चीनलाई ६ विकेटले पराजित गरेको थियो ।
दुई खेलमा दुई जितका साथ युएई अंक तालिकाको पहिलो स्थानमा छ । समान एक जित निकालेको नेपाल र थाइल्याण्ड नेट रन रेटका आधारमा क्रमश दोश्रो र चौथो स्थानमा छन् ।
राउण्ड रोबिनको आधारमा हुने छनोटको बिजेताले आईसीसी महिला टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ ।