एजेन्सी । इन्ग्लिश क्लब म्यानचेस्टर सिटिले च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा संघर्षपूर्ण जित निकालेको छ । बुधबार राति भएको खेलमा सिटिले शाल्केलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
शाल्केको मैदानमा १० खेलाडीमा सिमित सिटीलाई जित दिलाउन सर्जियो अग्युरो, लोरी साने र रहिम स्ट्रलिङले एक एक गोल गरे । शाल्केका नबिल बेन्टालेबले दुवै गोल पेनाल्टीमा गरे ।
निकै रोमान्चक बनेको खेलको १८ औं मिनेटमा अग्युरोले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ३८ औं मिनेटमा शाल्केका बेन्टालेबले पेनाल्टीमा गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । खेलको ४५ औं मिनेटमा बेन्टालेबले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै शाल्केलाइ २-१ को अग्रता दिलाए ।
खेलको ६८ औं मिनेटमा निकोलस ओटामेन्डीले दुई पहेलो कार्डसहित रातो कार्ड पाउँदा सिटी १० खेलाडीमा समेटिएको थियो । १० खेलाडीमा सिमित भएपनि सिटी खेलमा फर्कियो ।
खेलको ८५ औं मिनेटमा सिटीका सानेले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए । त्यसपछि खेलको ९० औं मिनेटमा स्ट्रलिङले गोल गर्दै सिटीलाई ३-२ को जित दिलाए ।
जितसंगै सिटीले लिगको अन्तिम आठमा स्थान बनाउने सम्भावना बलियो बनेको छ । सिटीले अब घरेलु मैदानमा दोस्रो लेग खेल खेल्नेछ ।