एजेन्सी । इटालियन क्लब युभेन्ट्स च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा पराजित भएको छ ।
बुधबार राति भएको खेलमा युभेन्ट्स स्पेनिस क्लब एट्लेटिको मड्रिडसंग २-० ले पराजित भएको हो । घरेलु मैदानमा एट्लेटिकोलाई जित दिलाउन जोसे जिमिनेज र कप्तान डिएगो गोडीनले एक एक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७८ औं मिनेटमा जिमिनेजले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८३ औं मिनेटमा गोडीनले गोल गर्दै एट्लेटिकोलाई २-० को जित दिलाए ।
एट्लेटिकोविरुद्ध बल पोजिसनमा पकड जमाएपनि युभेन्ट्सले गोल गर्न सकेनन् । युभेन्ट्सका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो, पाउल डिबला लगायतको केहि उत्कृष्ट प्रहारहरु गोलमा गोलमा परिणत हुन सकेन ।
जितसंगै एट्लेटिकोले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । युभेन्ट्सलाई भने घरेलु मैदानमा हुने दोस्रो लेगमा फराकिलो जित निकाल्नु पर्ने भएको छ ।