काठमाडौं । नेपालको रुस्लान थ्री स्टार क्लब भुटानमा जारी जिग्मे दोर्जी बाङ्गचुक स्मृति गोल्डकप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । बुधबार भएको दोस्रो सेमिफाइनलमा भारतको युनाइटेड ब्रदर्शलाई ३–२ गोल अन्तरले पराजित गर्दै थ्री स्टार उपाधि नजिक पुगेको हो ।
थ्री स्टारको जितमा दिनेश राजबंशी, रन्जन विष्ट र बुद्ध लिम्बुले गोल गरे ।
थ्री स्टारले पहिलो हाफमै दुई गोल गरेको थियो । डिफेन्डर दिनश राजबंशीले थ्री स्टारलाई सुरुवाती अग्रता दिलाए । उनले खेलको १७ मिनेटमा सुनिल बलको कर्नर बल सदुपयोग गर्दै हेड गोल गरे ।
दोस्रो गोल खेलको २० औ मिनेटमा सम्भव भयो । यसपटक रन्जन विष्टले गोल गरे । काउन्टरमा विदेशी खेलाडी अजायी मार्टिनले किपर बिट भएको अवस्थामा मिलाएको बलमा रन्जनले गोल गरेका थिए ।
पहिलो हाफको ३२ औ मिनेटमा युनाईटेड ब्रदर्शले गोल गर्दै खेलमा फर्कने कोशिश गरेको थियो । तर खेलको ८२ मिनेटमा बुद्ध लिम्बुले थ्री स्टारको लागि तेस्रो गोल गरेका थिए । बुद्धले पनि अजायी मार्टिनको पास सदुपयोग गरेका थिए । खेलको ईन्जुरी समयमा ब्रदर्श युनाइटेडले पेनाल्टी गोल गरेपनि हार टार्न सकेन ।
थ्री स्टारले अब (शुक्रबार) पारो एफसीसँग उपाधिका लागि खेल्नेछ ।