धनगढी । सिवाईसी अत्तरियाका कप्तान दिपेन्द्र सिहं ऐरीले टिमको फिल्डिङ प्रदर्शन उत्कृष्ट बनेपछि तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको फाइनलमा प्रवेश गर्न सफल भएको बताएका छन् ।
फाप्ला क्रिकेट मैदानमा बुधबार भएको पहिलो क्वालिफायर्समा ज्ञानेन्द्र मल्लको काठमाडौं गोल्डेन्सलाई ४१ रनले हराउँदै अत्तरिया फाइनलमा पुगेको थियो ।
'मेरो विचारमा फिल्डिङ हामीलाई सहयोग गरेजस्तो लाग्छ । जस्तै २ रनको स्थानमा एक रन दियौं । क्याचहरु राम्रो गर्यौ । त्यहि अनुसारको फिल्डिङले राम्रो भयो,' फाइनल प्रवेश गरेपछि कप्तान दिपेन्द्र भने ।
दिपेन्द्रले दक्षिण अफ्रिकाका पुर्व क्रिकेटर जोन्टी रोड्सको सकारात्मक परामर्शले टिमको सफलतामा सहयोग मिलेको बताए ।डीपीएलको गुडविल एम्बासडर समेत रहेका जोन्टी अत्तरियाका परामर्शदाता रहेका थिए ।
'ड्रेसिङ रुम र बाहिर जतिबेला पनि उहाले सकारात्मक सोच दिनु हुन्थ्यो । त्यसले पनि हामीलाई राम्रो गर्न सहयोग मिल्यो,' कप्तान दिपेन्द्रले थपे ।
यस्तै कप्तान दिपेन्द्रले अत्तरियालाई फाइनल पुर्याउदा खुसी लागेको समेत बताए ।
'हामीलाई सुरुवातमा युवा टोली भनिएको थियो । तर, हामीले जुन तरिकाले क्रिकेट खेलिरहेका छौं,' कप्तान दिपेन्द्रले भने, 'एकदमै खुसी छु ।'