धनगढी । दिपेन्द्र सिहं ऐरीको कप्तानीमा रहेको सिवाईसी अत्तरिया तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको पहिलो क्वालिफायर्समा ज्ञानेन्द्र मल्लको काठमाडौं गोल्डेन्सलाई ४१ रनले हराउँदै अत्तरिया उपाधि नजिक पुगेको हो ।
योसंगै अत्तरिया पहिलो पटक डीपीएलको फाइनलमा पुगेको छ । अब अत्तरियाले शनिबार हुने फाइनलमा दोस्रो क्वालिफायर्सको विजेतासंग खेल्नेछ । काठमाडौंले भने अब फाइनल प्रवेशका लागि इलिमिनेटरबीचको बिजेतासंग दोस्रो क्वालिफायर्स खेल्नेछ ।
बिहिबार हुने इलिमिनेटरमा तेस्रो भएको रुपन्देही च्यालेन्जर्स र चौंथो महेन्द्रनगर युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ । बिजेताले शुक्रबार फाइनल प्रवेशका लागि काठमाडौंसंग खेल्नेछ ।
फाप्ला क्रिकेट मैदानमा अत्तरियाले दिएको १११ रनको लक्ष्य पछ्याएको काठमाडौं १८ ओभर ३ बलमा अलआउट हुँदै ६९ रनमा समेटियो ।
काठमाडौंका लागि गौरब तमोरले सर्वाधिक २६ रन बनाए । यस्तै कप्तान ज्ञानेन्द्र मल्ल र योगेन्द्र सिंह कार्कीले समान ११/११ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
काठमाडौंलाई सस्तैमा समेट्न अत्तरियाका सन्नी पटेलले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । यस्तै भुवन कार्की र कमल सिंह ऐरीले २/२ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले पुरै २० ओभर खेल्दै ८ विकेट गुमाएर ११० रन बनाएको थियो ।
अत्तरियाका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३३ रन बनाए । यस्तै सन्नी पटेल २८ रन जोडेर आउट भए । त्यसबाहेक अत्तरियाका सुबेन्धु पाण्डेले १६ र जय किशन कोल्शावालाले १३ रन बनाए ।
काठमाडौंका अंकित दबास र सुर्य तामाङले २/२ विकेट लिए । राशिद खान र योगेन्द्र सिंह कार्कीले १/१ विकेट लिए ।
लिग चरणमा अत्तरिया शीर्ष स्थानमा रहदै क्वालिफायर्समा पुगेको थियो भने काठमाडौं दोस्रो स्थानमा रहेर क्वालिफायर्समा पुगेको थियो ।