धनगढी । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको पहिलो क्वालिफायर्समा अहिले सिवाईसी अत्तरिया र काठमाडौं गोल्डेन्सबीच प्रतिस्पर्धा हुँदैछ ।
फाप्ला क्रिकेट मैदानमा दिपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको अत्तरियाले टस जितेको छ । ज्ञानेन्द्र मल्लको काठमाडौंविरुद्ध टस जितेर अत्तरियाले पहिले ब्याटिङ रोजेको छ ।
आज दुवै टोलि फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रनेछ । शीर्ष स्थानमा रहदै क्वालिफायर्स पुगेको अत्तरिया र दोस्रो स्थानमा रहेर क्वालिफायर्स पुगेको काठमाडौंबीचको विजेताले शनिबार हुने फाइनलमा स्थान बनाउनेछन् ।
पराजित हुने टोलीले फाइनल प्रवेशका लागि इलिमिनेटरबीचको विजेतासंग दोस्रो क्वालिफायर्स खेल खेल्नेछ । बिहिबार हुने इलिमिनेटरमा तेस्रो भएको रुपन्देही च्यालेन्जर्स र चौंथो महेन्द्रनगर युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ ।
काठमाडौंविरुद्ध मैदान उत्रदा अत्तरिया जितको लयलाई कायम राख्दै फाइनल पुग्न चाहन्छ । लिग चरणको अन्तिम खेलमा काठमाडौंलाई ७ विकेटले हराएपछि अत्तरिया उच्च मनोबलका साथ मैदान प्रवेश गर्नेछ । अत्तरियाले जारी प्रतियोगितामा उच्च प्रदर्शन समेत गरिरहेको छ ।
यता, काठमाडौं भने समूह चरणको अन्तिम खेलमा व्यहोरेको हारको बदला लिँदै फाइनल पुग्ने लक्ष्यमा हुनेछ । तर, काठमाडौंलाई युवा टोलीले भरिएको अत्तरियाविरुद्ध जित निकाल्न कठिन भने रहेको छ ।