काठमाडौं । एन्फा यू–२१ फुटबल टोलीका मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले भारतको गुवाहाटीमा बुधबारबाट सुरु हुने डा ता आओ अन्तराष्ट्रिय फुटबल च्याम्पियनसिपको उपाधि जितेर घर फर्कने बताएका छन् ।
प्रतियोगिताका लागि छोटो समयको तयारी गरेपनि प्रशिक्षक श्रेष्ठले टिम राम्रो बनेको र उपाधि जितेर घर फर्कने बताए ।
'समय छोटो भएपनि प्रतियोगिताका लागि तयारी राम्रो छ । सबै खेलाडीहरुले लिग खेलीरहेको भएर खेलमा कुनै समस्या छैन,' प्रशिक्षक श्रेष्ठले भने, 'हाम्रो लक्ष्य जित्ने नै हो । हामी यहाँबाट ट्रफी लिएर जान चाहान्छौं ।'
समूह 'बी' मा रहेको एन्फा यू–२१ टोलीले बुधबार नेहरु अन्तराष्ट्रिय फुटबल स्टेडियममा मेघालयसंग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
यस्तै प्रशिक्षक श्रेष्ठले टोलीको टिम सेट नमिलेको कारण पहिलो खेलमा कठिन हुनसक्ने बताए ।
'टिम सेट हुन मात्रै पाएको छैन् । हामीले पाँच खेल खेल्नुछ । टिमको सेट बन्छ,' प्रशिक्षक श्रेष्ठले थपे, 'टिमलाई हेर्दा नकआउट चरणसम्म पग्छौं ।'
समूह 'बी' मा नागल्याण्ड, मेघालय, मिजोराम, मनिपुर र त्रिपुरा रहेका छन् । दोस्रो खेलमा नेपालले त्रिपुरासंग खेल्नेछ ।