काठमाडौं । एनसीसीएस–सिप्यान क्रिकेट अवार्ड अन्तर्गत वर्षको उत्कृष्ट क्षण अवार्डका लागि १० क्षणहरु सार्वजनिक भएको छ ।
क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले मंगलबार वर्षको उत्कृष्ट १० क्षणहरु सार्वजनिक गरेको हो । सिप्यानले खेलाडी र टिमले गरेको प्रदर्शन र प्रदर्शनको मुल्यांकनको आधारमा उत्कृष्ट क्षणहरु सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिएको क्षणमध्ये सर्वाधिक मत प्राप्त गर्ने क्षणलाई अवार्ड प्रदान गरिने छ ।
सिप्यानले सार्वजनिक गरेको उत्कृष्ट १० क्षणहरु :
दिपेन्द्र सिंह ऐरी -
गत वर्ष जिम्बावेमा भएको विश्वकप छनोटमा नेपाललाई एकदिवसीय मान्यता दिलाउन पपुवा न्युगिनीसंग उत्कृष्ट इनिङस खेलेका कारण दिपेन्द्रलाई यस विधामा छनोट गरिएको छ । नेपाललाई जित दिलाउन दिपेन्द्रले ४ ओभर २ बलमा १४ रन खर्चेर ४ विकेट हात पारेका थिए । यस्तै ब्याटिङतर्फ दिपेन्द्रले अविजित रहदै अर्धशतकिय इनिङस खेलेका थिए ।
ज्ञानेन्द्र मल्ल -
गत महिना नेपालले घरेलु टोलीसंग समान ३ खेलको एकदिवसीय र टी-ट्वान्टी सिरिजका लागि युएई भ्रमण गरेको थियो ।
उक्त भ्रमणको दौरान अन्तिम टी-ट्वान्टीमा ज्ञानेन्द्र मल्लले उत्कृष्ट ३ क्याच लिँदै नेपाललाई ऐतिहासिक सफलता दिलाएका थिए । ज्ञानेन्द्रको त्यहिँ प्रदर्शनले उनलाई यस अवार्डका लागि छनोट गरिएको छ ।
करण केसी -
गत वर्ष नामिबियामा भएको डिभिजन- २ मा क्यानाडाविरुद्ध जित दिलाउन उत्कृष्ट ब्याटिङ गर्दै नेपाललाई जित दिलाएका थिए । त्यहिँ जितले नेपालले एकदिवसीय मान्यता पाएको थियो ।
नेपाली राष्ट्रिय महिला टोली -
गत महिना थाइल्याण्डमा सम्पन्न थाइल्याण्ड टी-ट्वान्टी स्म्यास प्रतियोगितामा नेपाल उपविजेता बन्यो । जुन नेपाली महिला टोलीले १२ वर्षपछि पहिलो पटक अन्तराष्ट्रिय प्रतियोगिताको फाइनलमा स्थान बनाएको थियो । त्यहिँ सफलताले नेपाली राष्ट्रिय महिला टोली यस अवार्डका लागि मनोनयनमा परेको हो ।
पारस खड्का -
गत महिना नेपालले घरेलु टोलीसंग समान ३ खेलको एकदिवसीय र टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजका लागि युएई भ्रमण गरेको थियो । युएई भ्रमणमा नेपालले एकदिवसीय र टी-ट्वान्टी सिरिज जितेर ऐतिहासिक सफलता हात पार्यो । उक्त सफलता हात पार्दा कप्तान पारसले शतकीय इनिङस खेलेका थिए । कप्तान पारस एकदिवसीय अन्तराष्ट्रियमा शतक बनाउने पहिलो नेपाली खेलाडी समेत बनेका थिए ।
रोहित कुमार पौडेल -
घरेलु टोलीसंग एकदिवसीय र टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजका लागि युएई भ्रमणको दौरान रोहितले कीर्तिमानी प्रदर्शन गरेका थिए । युएईसंगको दोस्रो एकदिवसीयमा अर्धशतक प्रहार गर्दै रोहितले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने संसारकै कान्छा खेलाडीको कीर्तिमान बनाउन सफल भएका थिए । रोहितले भारतका लिजेण्ड सचिन तेन्दुलकर र पाकिस्तानका साहिद अफ्रिदीको कीर्तिमान तोडेका थिए ।
रुबिना क्षेत्री -
गत महिना थाइल्याण्डमा सम्पन्न थाइल्याण्ड टी-ट्वान्टी स्म्यास प्रतियोगितामा नेपाली राष्ट्रिय महिला टोली उपविजेता बन्यो । नेपाललाई उपविजेता बनाउन कप्तान रुबिनाले उत्कृष्ट प्रदर्शन गरेकी थिईन् । त्यसैको आधारमा उनलाई यस अवार्डको लागि मनोनित गरिएको हो ।
सन्दीप लामिछाने -
सन्दीप अन्तराष्ट्रिय फ्रेन्चाईज क्रिकेट प्रतियोगिता खेल्ने पहिलो नेपाली खेलाडी हुन् । १० महिना अघि भारतको इण्डियन प्रिमिएर लिग (आईपीएल) बाट ठुला टी-ट्वान्टी क्रिकेटमा डेब्यु गरेका सन्दीपले नाम चलेका ठुला प्रतियोगितामा कमाल देखाईसकेका छन् ।
सन्दीपले आईपीएलपछि क्यारिबियन प्रिमिएर लिग (सिपिएल) मा सेन्ट किट्स एण्ड नेविज प्याट्रियट्स, बिग बास लिगमा मेलबर्न स्टार्स, क्यानाडाको ग्लोबल टी-ट्वान्टीमा मोन्टेरिएल टाइगर्स, अफगानिस्तानको प्रिमियर लिगमा नाङर लियोपार्ड्स, बंगलादेश प्रिमियर लिगमा सिल्हेट सिक्सर्सबाट आफ्नो प्रतिभा देखाइसकेका छन् ।
सोमपाल कामी -
गत महिना नेपालले घरेलु टोलीसंग समान ३ खेलको एकदिवसीय र टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजका लागि युएई भ्रमण गरेको थियो । युएई भ्रमणमा नेपालले ऐतिहासिक सफलता हात पार्दा सोमपालले उत्कृष्ट प्रदर्शन गरेका थिए । युएई भ्रमणको दौरान सोमपाल एकै एकदिवसीय अन्तराष्ट्रिय खेलमा ५ विकेट लिने नेपाली खेलाडी बनेका थिए ।
सन्दीप जोरा -
गत महिनाको युएई भ्रमणमा सन्दीपले टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । र, सन्दीपले डेब्यु खेलमै अर्धशतक बनाएका थिए । उक्त अर्धशतकसंगै सन्दीप डेब्यु खेलमा अर्धशतक बनाउने संसारकै कान्छा खेलाडी बनेका थिए ।