धनगढी । दिपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको सिवाईसी अत्तरिया शीर्ष स्थानमा रहँदै तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको क्वालिफायर्समा प्रवेश गरेको छ ।
मंगलबार भएको लिग चरणको अन्तिम खेलमा ज्ञानेन्द्र मल्लको काठमाडौं गोल्डेन्सलाई ७ विकेटले हराउँदै अत्तरिया शीर्ष स्थानमा रहदै क्वालिफायर्समा पुगेको हो ।
अत्तरियासंगको हारसंगै काठमाडौं पनि दोस्रो स्थानमा रहँदै क्वालिफायर्समा पुगेको छ । र, बुधबार हुने पहिलो क्वालिफायर्समा अत्तरिया र काठमाडौंबीच नै खेल हुनेछ ।
क्वालिफायर्सको विजेताले सिधै फाइनलमा स्थान बनाउने छ । पराजित हुने टोलीले फाइनल प्रवेशका लागि इलिमिनेटरको विजेतासंग दोस्रो क्वालिफायर्स खेल खेल्नेछ । इलिमिनेटरमा तेस्रो भएको रुपन्देही च्यालेन्जर्स र चौंथो स्थानमा रहेको महेन्द्रनगर युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ ।
फाप्ला क्रिकेट मैदानमा काठमाडौंले दिएको ७६ रनको सामान्य लक्ष्य अत्तरियाले १७ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।
अत्तरियाका लागि जय किशन कोल्शावालाले सर्वाधिक ३३ रनको योगदान दिए । यस्तै कप्तान दिपेन्द्रले अविजित २० रन बनाए । प्रेम तामाङले १० रन जोड्दा सन्दीप जोराले अविजित ७ रन बनाए ।
काठमाडौंका ललित नारायण राजवंशी, सुर्य तामाङ र राशिद खानले समान १/१ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा अलआउट हुँदै ७५ रनको झिनो योगफल तयार गरेको थियो ।
काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३२ रन जोडे । यस्तै योगेन्द्र सिंह कार्कीले १३ तथा अंकित दबासले १० रन बनाए । काठमाडौंका अन्य ८ ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
काठमाडौंलाई सस्तैमा समेट्न अत्तरियाका दिपेन्द्र सिंह ऐरीले २ ओभरमा ४ रन खर्चेर ३ विकेट लिए । यस्तै राम नरेश गिरीले २ विकेट लिए ।
जितसंगै शीर्ष स्थानको अत्तरियाले ५ खेलबाट ८ अंक जोड्यो । काठमाडौंले ५ खेलबाट ७ अंक बनायो । रुपन्देही र महेन्द्रनगरले समान ४/४ अंक जोड्यो ।
साबिकको विजेता धनगढी स्टार्स र विराटनगर किंग्स भने प्रतियोगिताबाट बाहिरिसकेको छ ।