काठमाडौं । आईसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालले शानदार सुरुवात गरेको छ । मंगलबार भएको समुह चरणकाे आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई ३४ रनले पराजित गरेको हो ।
१ सय २७ रनको लक्ष्य पछ्याएको मलेसिया ७ विकेटको क्षतिमा ९२ रनमा समेटियो ।
क्रिस्टिना बर्थले २१ रन बनाउनु बाहेक अन्यको प्रर्दशन उल्लेख्य रहन सकेन । विनिफ्रेड दुरीसिंघमले २१ तथा सासा आज्मीले १६ रन बनाईन् । नेपालकी करुना भण्डारी र सरिता मगरले समान २\२ विकेट लिए । कविता कुँवर र सिता राना मगरले समान एक एक विकेट लिए ।
यसअघि ट्रेडथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १२६ रन बनाएकाे थियो ।
नेपालको लागि ओपनर सिता राना मगरले ४२ रन जोडिन् । यस्तै कप्तान रुबिना क्षेत्रीले अविजित ३३ रन बनाईन् । त्यसबाहेक काजोल श्रेष्ठले १६, इन्दु बर्माले १३ र नेरी थापाले ६ रन जोडिन् ।
जितसंगै नेपालले एक खेलबाट २ अंक जोडेको छ ।
नेपालले मलेसियापछि दोस्रो खेलमा आयोजक थाईल्याण्डसंग फेब्रुवरी २१ मा खेल्नेछ । नेपालले युएईसंग फेब्रुवरी २२ र हङकङसंग २४ फेब्रुवरी, फेब्रुवरी २५ मा चीन र अन्तिम खेलमा कुवेतसंग फेब्रुवरी २७ मा खेल्नेछ ।
एसिया छनोटमा नेपालसहित ७ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् । छनोटमा नेपाल, थाइल्याण्ड, युएई, मलेसिया, कुवेत, चीन र हङकङ रहेका छन् ।
राउण्ड रोबिनको आधारमा हुने छनोटको बिजेताले आईसीसी महिला टी-ट्वान्टी विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ ।