धनगढी । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उत्कृष्ट यू-१९ क्रिकेट टोलीले दक्षिण अफ्रीकामा अभ्यास गर्ने भएका छन् ।
आयोजक धनगढी क्रिकेट एकेडमीले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने यू-१९ खेलाडी सम्मलित टिम डीपीएल इमर्जिङ स्टार्सले दक्षिण अफ्रीकाको भ्रमण गर्ने जनाएको हो ।
डीपीएलले स्पोर्ट्स एडसंगको सहकार्यमा १४ खेलाडी रहने डीपीएल इमर्जिङ स्टार्सलाई दक्षिण अफ्रीकाको भ्रमण गराउने जनाएको छ । कुल ४० लाख लाग्ने १४ सदस्सीय टोलीको सम्पूर्ण खर्च आयोजक डीपीएलले व्यहोर्ने एकेडमीका अध्यक्ष सुबास शाहीले बताए ।
दक्षिण अफ्रिकी क्रिकेटर तथा डीपीएल क्रिकेटको गुडविल एम्बासडर जोन्टी रोड्स र सिवाईसी अत्तरियाका प्रशिक्षक मरोन रायनको पहलमा डीपीएल इमर्जिङ स्टार्सले दक्षिण अफ्रीका जान लागेका हुन् ।
डीपीएल इमर्जिङ स्टार्सले दशैँपछि दुई साताको लागि दक्षिण अफ्रीकाको भ्रमण गर्नेछन् । डीपीएल इमर्जिङ स्टार्सले केप टाउनमा स्थानीय क्लब र प्रान्तीय टोलीसंग ५० ओभर र दुईदिवसिय क्रिकेट खेल्नेछ ।
दक्षिण अफ्रीका भ्रमणको लागि आगामी आइतबार इमर्जिङ स्टार्स टोलीको घोषणा गरिने आयोजकले जनाएको छ । खेलाडीको प्रदर्शन र उमेर हेरेर टोलीको छनोट गरिने बताईएको छ ।
यस भ्रमण दक्षिण अफ्रीकामा हुने यू-१९ विश्वकप क्रिकेटको तयारी समेत हुन सक्ने स्पोर्ट्स एडका अविशेक केसीले बताए ।