काठमाडौं । आईसीसी महिला विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको पहिलो खेलमा नेपालले मलेसियालाई जितका लागि १२७ रनको लक्ष्य दिएको छ ।
थाइल्याण्डकाे बैङकस्थित ट्रेडथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १२६ रन बनायो ।
नेपालको लागि ओपनर सिता राना मगरले ४२ रन जोडिन । यस्तै कप्तान रुबिना क्षेत्रीले अविजित ३३ रन बनाईन् । त्यसबाहेक काजोल श्रेष्ठले १६, इन्दु बर्माले १३ र नेरी थापाले ६ रन जोडिन ।
नेपालले मलेसियापछि दोस्रो खेलमा आयोजक थाईल्याण्डसंग फेब्रुवरी २१ मा खेल्नेछ । नेपालले युएईसंग फेब्रुवरी २२ र हङकङसंग २४ फेब्रुवरी, फेब्रुवरी २५ मा चीन र अन्तिम खेलमा कुवेतसंग फेब्रुवरी २७ मा खेल्नेछ ।
एसिया छनोटमा नेपालसहित ७ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् । छनोटमा नेपाल, थाइल्याण्ड, युएई, मलेसिया, कुवेत, चीन र हङकङ रहेका छन् ।
राउण्ड रोबिनको आधारमा हुने छनोटको बिजेताले आईसीसी महिला टी-ट्वान्टी विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ ।