बुटवल । विभागीय टोली नेपाल पुलिस क्लबले २१ औं संस्करणको तिलोत्तमा गोल्डकप फुटबलमा आज भारतीय क्लब ब्रदर्श युनाइटेडसंग प्रतिस्पर्धा गर्दैछ ।
एन्फा एकेडेमी बुटवलमा पुलिस र ब्रदर्शबीच हुने अन्तिम प्रिक्वाटरफाइनल खेल दिउँसो साढे २ बजे सुरु हुनेछ । र, दुवै टोली जित निकाल्दै क्वाटरफाइनल पुग्न चाहन्छन् ।
'ए' डिभिजन क्लब पुलिस खप्तड गोल्डकपको विजेता हो । तर, त्यसपछिका ५ प्रतियोगितामा भने पुलिसले सोचे अनुरुप प्रदर्शन गर्न सकेको छैन ।
ब्रदर्शविरुद्ध पुलिसका केहि युवा खेलाडीहरु टोलीमा रहने छैनन् । उनीहरु नेपाल यू–२१ टिमबाट खेल्न भारत पुगेका छन् । यस्तै रेजिन सुब्बा र दिनेश राजबंशीले हालै क्लब छाडेका छन् ।
पुलिस र ब्रदर्शबीचको विजेताले सेमिफाइनल प्रवेशका लागि लिग विजेता मनाङ मर्स्याङ्दी र च्यासल युथ क्लबको विजेतासंग खेल्नेछ ।
प्रतियोगितामा झापा-११ , आयोजक रुपन्देही र च्यासल युथ क्वाटरफाइनलमा प्रवेश गरिसकेका छन् ।
प्रतियोगिताको विजेताले ८ लाख ८० हजार पाउनेछ । यस्तै उपविजेता टिमले ५ लाख ५० हजार प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडिले एक थान मोटरसाइकल पाउने आयोजकले जनाएको छ ।