काठमाडौं । भुटानमा जारी जिग्मे दोर्जी बाङ्गचुक स्मृति गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा नेपालको त्रिभुवन आर्मी क्लबले आज (मंगलबार) भुटानको पारो फुटबल क्लबसंग प्रतिस्पर्धा गर्दैछ ।
नेपाली राष्ट्रिय यू -१९ टोलीका कप्तान अर्पण कार्की रहेको पारो र आर्मीबीचको खेल दिउँसो पौने ३ बजे सुरु हुनेछ । दुवै टोली फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
प्रतियोगितामा सिधै बाई पाएर क्वाटरफाइनल खेलेको आर्मीले शुक्रबार भुटानको थिम्पु सिटीलाई ६–० को भारी अन्तरले पराजित गरेका थियो । पहिलो पटक नेपाल बाहिर खेलेको आर्मी पारोलाई हराएर पहिलो सहभागितामै फाइनल पुग्न चाहन्छ ।
यस्तै अर्पणले उत्कृष्ट प्रदर्शन गरेपछि पारोले प्रान जाइतोन फुटबल क्लबलाई २–१ गोलले पराजित गरेको थियो । उक्त खेलमा अर्पण म्यान अफ दि म्याच चुनिएका थिए ।
आर्मी र पारोबीचको विजेताले फाइनलमा नेपालको रुस्लान थ्रीस्टार र भारतको युनाइटेड ब्रदर्शबीचको विजेतासंग खेल्नेछ ।