धनगढी । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा आज मंगलबार लिग चरणको अन्तिम खेल हुँदैछ । मंगलबार सिवाईसी अत्तरिया र काठमाडौं गोल्डेन्सबीच प्रतिस्पर्धा हुनेछ ।
फाप्ला क्रिकेट मैदानमा हुने अत्तरिया र काठमाडौंबीचको खेल दिउँसो १ बजेबाट सुरु हुनेछ । र, प्रतिस्पर्धाका लागि मैदान उत्रदा दुवै टोली जित निकाल्ने लक्ष्यमा हुनेछन् ।
लिग चरणको अन्तिम खेल बाँकी रहदै ज्ञानेन्द्र मल्लको काठमाडौं र दिपेन्द्र सिंह ऐरीको अत्तरिया क्वालिफायर्समा पुगिसकेको छ । त्यसैले यस खेल दुवै टोलीको लागि त्यति महत्वपूर्ण छैन ।
तर, यस खेलले शीर्ष स्थानमा रहेर क्वालिफायर्स पुग्ने टोलीको तय हुनेछ । दुवै टोली शीर्ष स्थानमा रहेर दोस्रो चरणमा पुग्न चाहन्छ ।
लिग चरणको एक खेल बाँकी रहदा ७ अंक जोडेको काठमाडौं शीर्ष स्थानमा छ । ६ अंक जोडेको अत्तरिया दोस्रो स्थानमा छ । काठमाडौं र अत्तरियाबीचको विजेताले शीर्ष स्थानमा रहेर क्वालिफायर्स खेल्नेछ । पराजित हुने टोली दोस्रो स्थानमा रहदै क्वालिफायर्स खेल्नेछ ।
मंगलबार हुने क्वालिफायर्सको विजेताले सिधै फाइनलमा स्थान बनाउने छ । पराजित हुने टोलीले फाइनल प्रवेशका लागि इलिमिनेटरको विजेतासंग दोस्रो क्वालिफायर्स खेल्नेछ ।
इलिमिनेटरमा तेस्रो भएको रुपन्देही च्यालेन्जर्स र चौंथो स्थानमा रहेको महेन्द्रनगर युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ ।