काठमाडौं । आईसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोटका लागि भोली (मंगलबार) नेपालको राष्ट्रिय महिला क्रिकेट टोलीले आफ्नो पहिलो खेल खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान पौने ९ बजे मलेसियासंग खेल्नेछ ।
छनोट प्रतियोगिता थाइल्याण्डमा आज (सोमबार) बाट सुरु भएको हो ।
पहिलो दिन भएको तीन खेलमा आयोजक थाइल्याण्ड, हङकङ र मलेसियाले बिजयी सुरुवात गरेका छन् ।
राउण्ड रोबिनको आधारमा हुने छनोटको बिजेताले आईसीसी महिला टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ ।
नेपालले युएईसंग फेब्रुअरी २२ मा खेल्नेछ । त्यस्तै हङकङसंग २४ फेब्रुअरीमा, चीनसंग फेब्रुअरी २५ मा र अन्तिम खेलमा कुवेतसंग फेब्रुअरी २७ मा खेल्नेछ ।
नेपाली टिममा कप्तान क्षेत्रीसंगै उप–कप्तान सिता राना मगर, करुणा भण्डारी, सरिता मगर, नेरी थापा, ईन्दु बर्मा, सोनु खड्का, आरती बिडारी, काजल श्रेष्ठ रहेका छन् ।
त्यस्तै, रोमा थापा, कबिता कुवँर, अप्सरा बेगम, ममता चौधरी र बिन्दु रावल छन् । मुख्य प्रशिक्षकमा बिनोद दास, सहायक प्रशिक्षकमा निरा राजोपाध्याय, म्यानेजरमा अमृता पौडेल र फिजियोमा सकुना धानी छन् ।
प्रतियोगिताका लागि चार जना रिजर्भ खेलाडी समेत समावेश गरिएको छ । रिजर्भ खेलाडीमा रितु कुमारी कनुजिया, सुमन विष्ट, अन्जली चन्द र डोली भट्ट छन् ।
गत महिना थाइल्याण्डमै भएको वुमन्स टी ट्वान्टी स्म्यास प्रतियोगितामा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।