काठमाडौं । ब्रमास्मी कलेजको प्रमुख प्रायोजकमा ब्रमास्मी एसईई कप हुने भएको छ । नेक्सस क्रिकेट एकेडेमीले एसईई दिएर बसेका खेलाडीलाई लक्षित गर्दै प्रतियोगिता गराउन लागिएको जानकारी दिएको छ ।
सोमबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरि नेक्सस क्रिकेट एकेडेमीका अध्यक्ष भरत कुमार शाही र ब्रमास्मी कलेजका एकेडेमी डाइरेक्टर सुनन्दा रेग्मीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौता अनुसार प्रतियोगिताको लागि ब्रमास्मी कलेजले मुख्य प्रायोजकको रुपमा आयोजकलाई ७ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउनेछ । साथमा खेलाडीलाई विभिन्न छात्रबृत्ति समेत प्रदान गरिने सम्झौतामा उल्लेख छ ।
प्रतियोगितामा धेरै भन्दा धेरै खेलाडी सहभागीताको लागि आयोजकले देशभरका बिभिन्न ११ शहरबाट ट्यालेन्ट हण्ट मार्फत खेलाडी छनोट गरिनेछ ।
आयोजकका अनुसार चैत २२ र २३ धनगढीमा, २४ र २५ कोहलपुलमा, २६ र २७ सुर्खेतमा, २८ र २९ गते दाङमा, चैत ३० र बैशाख १ गते बुटबलमा, बैशाख २ र ३ गते पोखरामा, ४ र ५ गते चितवनमा, बैशाख ६ र ७ गते कलैयामा, ९ र १० गते विराटनगरमा, बैशाख ११ र १२ विर्तामोडमा र १५ र १६ काठमाडौँमा ट्यालेन्ट हण्ड हुनेछ ।
आयोजकले एक शहरबाट ५ देखि ७ खेलाडी छनोट गरि काठमाडौँमा एक हप्ता क्याम्प गर्नेछ । सो क्यामबाट अन्तिम ८५ खेलाडी छनोट हुनेछन् । प्रतियोगितामा ८ स्कुल तथा कलेजको सहभागीता रहनेछ ।
प्रतियोगितामा ८ टिमले ५० ओभरको ब्रमास्मी एसईई कप खेल्नेछन् । आयोजकले मिति तय नगरेपनि बैशाखमै प्रतियोगिता आयोजना गर्ने बताएको छ । खेल मुलपानी मैदानमा हुनेछ ।
ट्यालेन्ट हण्डबाट सहभागि सम्पुर्ण खेलाडीलाई आंशिक, सयमा छनोट हुने खेलाडीलाई ५० प्रतिशत र उत्कृष्ट १४ जना खेलाडीलाई पुर्ण निशुल्क छात्रबृत्ति अध्ययन गर्ने ब्यवस्था मिलाईएको आयोजकले जनाएको छ ।
प्रतियोगिताका विधागततर्फ उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र म्यान अफ दि सिरिजलाई निक्सस क्रिकेट एकेडेमीको भारतको दिल्ली सेन्टरमा निःशुल्क एक वर्ष प्रशिक्षणको ब्यवस्था मिलाउने आयोजकले जनाएको छ ।
अन्य १० उत्कृष्ट खेलाडीलाई नेक्सस क्रिकेट एकेडेमी काठमाडौँमा ६ महिना निःशुल्क एबं होस्टेलमा ५० प्रतिशत छुट दिने ब्यवस्था समेत मिलाईएको छ ।