धनगढी । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा सिवाईसी अत्तरियाले विराटनगर किंग्सलाई जितका लागि १४९ रनको लक्ष्य दिएको छ ।
फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले पुरै २० ओभर खेल्दै ३ विकेटको क्षतिमा १४८ रन बनायो । यो स्कोर प्रतियोगिताकै सर्वाधिक ठुलो स्कोर हो ।
अत्तरियाको उच्च स्कोरमा सन्नी पटेल र जय किशन कोल्शावालाले अर्धशतकीय इनिङस खेले । बिस्फोटक ब्याटिङ गरेका सन्नीले अविजित ६१ रन बनाए ।
३१ बलमा ५ चौका र ४ छक्का प्रहार गरेका सन्नीले अन्तिम ओभरमा किशोर महतोको बलमा २ छक्का र ३ चौका प्रहार गरेका थिए । सन्नी डीपीएलमा अर्धशतक पुरा गर्ने पाँचौ खेलाडी समेत बने ।
यस्तै कोल्शावाला ५१ रनमा अविजित रहे । डीपीएलमा अर्धशतक बनाउने चौंथो खेलाडी बनेका कोल्शावालाले ५० बलमा ५ चौका र २ छक्का प्रहार गरे । यस्तै जितेन्द्र सिंह ठकुरीले १३ तथा कप्तान दिपेन्द्र सिंह ऐरीले १० रन बनाए ।
विराटनगरका सुशन भारी र संसद शेखले समान १/१ विकेट लिए ।
आज दुवै टोली स्पष्ट जितको खोजीमा रहेका छन् । किनकि दुवै टोलीलाई प्ले अफ पुग्न यस खेल महत्वपूर्ण रहेको छ ।
अत्तरिया ३ खेलबाट ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । विराटनगरलाई पराजित अत्तरिया एक खेल अगाबै प्लेमा पुग्ने छ । पराजित भए अत्तरियालाई अन्तिम खेलसम्म पर्खनु पर्ने हुन्छ ।
४ खेलबाट ४ अंक जोडेर विराटनगर लिगको पाँचौ स्थानमा छ । विराटनगरलाई प्ले अफमा पुग्न अत्तरियाविरुद्धको अन्तिम खेल जित्नै पर्ने दबाब छ । पराजित भए विराटनगर प्रतियोगिताबाट बाहिरिने छ । यस्तै विराटनगर पराजित भए महेन्द्रनगर युनाईटेडलाई फाइदा पुग्नेछ ।