धनगढी । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा रुपन्देही च्यालेन्जर्सले धनगढी स्टार्सलाई जितका लागि १०७ रनको लक्ष्य दिएको छ ।
फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले पुरै १५ ओभर खेल्दै ९ विकेट गुमाएर १०६ रन बनायो ।
हुस्सुको कारण ढिला सुरु हुँदा १५ ओभरमा झारिएको खेलमा रुपन्देहीका लागि सुमित महर्जनले सर्वाधिक ३३ रनको योगदान दिए । यस्तै बिनोद भण्डारीले २४ रन बनाए । रुपन्देहीका बाबर हायातले १९ रन जोड्दा बिक्रम शोबले ११ रन बनाए ।
धनगढीका कप्तान सोमपाल कामी, पवन सर्राफ र बिपिन खत्रीले समान २/२ विकेट लिए ।
आज बसन्त रेग्मीको कप्तानीमा रहेको रुपन्देही धनगढीविरुद्ध जित निकाल्दै प्ले अफ सुरक्षित बनाउन चाहन्छ । सुरुवाती दुई खेल लगातार जितेर त्यसपछिको दुई खेल गुमाएको रुपन्देहीको ४ अंक छ ।
यता, सोमपाल कामीको धनगढी सान्त्वना जित निकालेर प्रतियोगिता सकाउन चाहन्छ । सुरुवाती ३ खेलमा पराजय व्यहोरेको धनगढी प्रतियोगिताबाट बाहिरीसकेको छ । रुपन्देहीविरुद्धको खेल धनगढीका लागि प्रतिष्ठाको लडाई मात्र हुनेछ ।
४ खेलबाट १ अंक जोडेर धनगढी लिगको पुछारमा रहेको छ । यस्तोमा रुपन्देहीविरुद्ध धनगढीलाई कुनै डर हुने छैन ।