काठमाडौं । भारतमा सम्पन्न हिरो गोल्डकप फुटबलको उपविजेता नेपालको राष्ट्रिय महिला फुटबल टिम आज (सोमबार) स्वदेश फर्कदैछ । आसन्न साफ र ओलम्पिक छनोटलाई लक्षित गर्दै आयोजना गरिएको प्रतियोगितामा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्कन लागेको हो ।
अखिल नेपाल फुटबल संघ एन्फाले नेपाली टिम भारतको बागडोरा हुदै नेपाल आउने जनाएको हो । उडिसाबाट बागडोरासम्म ह्वाई उडानबाट र बागडोराबाट झापासम्म स्थल मार्ग हुदै महिला टोली नेपाल छिर्नेछ ।
भारतको भुवनेश्वरमा भएको प्रतियोगितामा नेपालले भारत र ईरान जस्ता बलिया टोलीलाई पराजित गर्दै फाईनल खेलेको थियो ।
नेपाल फर्किए लगत्तै महिला टिमलाई बन्द प्रशिक्षणमा समावेश गरिनेछ । महिला टिमको बन्द प्रशिक्षण ईटहरीमा सुरु हुनेछ ।
साफलाई लक्षित गर्दै एन्फाले महिला टिमलाई सोझै बन्द प्रशिक्षणमा सहभागि गराउने निर्णय गरेको हो ।
'महिला टिम काठमाडौं आउने छैन । सिधै ईटहरीमा बन्द प्रशिक्षणमा सहभागि हुनेछ ।' एन्फाले भनेको छ ।
बन्द प्रशिक्षणकै क्रममा साफ खेल्ने अन्तिम टोलीको नामावली सार्वजनीक गरिनेछ । राष्ट्रिय टिममा अहिले २३ खेलाडीलाई समावेश गरिएको छ । साफका लागि अन्तिम २० सदस्यीय टोलीको घोषणा हुनेछ ।