धनगढी । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तर्गत आज हुने धनगढी स्टार्स र रुपन्देही च्यालेन्जर्सबीच पहिलो खेल प्रभावित भएको छ ।
फाप्ला क्रिकेट मैदानमा लागेको हुस्सुको कारण धनगढी र रुपन्देहीबीचको खेल प्रभावित भएको हो । हुस्सुको कारण मैदानको भिजिबिलिटी कम हुँदा दुई टोलीबीचको खेलको टस समेत हुन सकेको छैन ।
दुई टोलीबीचको खेल ढिला सुरु हुने भएको छ । खेलका लागि ९:५५ मा टस हुनेछ ।
आज बसन्त रेग्मीको कप्तानीमा रहेको रुपन्देही धनगढीविरुद्ध जित निकाल्दै प्ले अफमा पुग्ने लक्ष्यमा रहेको छ । सुरुवाती दुई खेल लगातार जितेर त्यसपछिको दुई खेल गुमाएको रुपन्देहीको ४ अंक छ ।
यता, सोमपाल कामीको धनगढी सान्त्वना जित निकालेर प्रतियोगिता सकाउन चाहन्छ । सुरुवाती ३ खेलमा पराजय व्यहोरेको धनगढी प्रतियोगिताबाट बाहिरीसकेको छ । रुपन्देहीविरुद्धको खेल धनगढीका लागि प्रतिष्ठाको लडाई मात्र हुनेछ ।
४ खेलबाट १ अंक जोडेर धनगढी लिगको पुछारमा रहेको छ । यस्तोमा रुपन्देहीविरुद्ध धनगढीलाई कुनै डर हुने छैन । तर, प्ले अफ लक्ष्य बोकेको रुपन्देहीलाई धनगढीसंग पराजयको डर हुनेछ ।
सोमबार हुने दोस्रो खेलमा दिपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको अत्तरिया र करण केसीको विराटनगरबीच खेल हुनेछ ।
४ खेलबाट ४ अंक जोडेर विराटनगर लिगको पाँचौ स्थानमा छ । विराटनगरलाई प्ले अफमा पुग्न अत्तरियाविरुद्धको अन्तिम खेल जित्नै पर्ने दबाब छ । पराजित भए विराटनगर प्रतियोगिताबाट बाहिरिने छ । यस्तै विराटनगर पराजित भए महेन्द्रनगर युनाईटेडलाई फाइदा पुग्नेछ ।