धनगढी । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा आज सोमबार दुई खेल हुँदैछ । सोमबार धनगढी स्टार्स र रुपन्देही च्यालेन्जर्स तथा विराटनगर किंग्स र सिवाईसी अत्तरियाबीच प्रतिस्पर्धा हुँदैछ ।
फाप्ला क्रिकेट मैदानमा हुने पहिलो खेलमा रुपन्देहीलाई साबिकको विजेता धनगढीले चुनौती दिनेछ । रुपन्देही र धनगढीबीचको खेल बिहान ९ बजेबाट सुरु हुनेछ ।
धनगढीविरुद्ध मैदान उत्रदा बसन्त रेग्मीको कप्तानीमा रहेको रुपन्देही जित निकाल्दै प्ले अफमा पुग्ने लक्ष्यमा हुनेछ । सुरुवाती दुई खेल लगातार जितेर त्यसपछिको दुई खेल गुमाएको रुपन्देहीको ४ अंक छ । रुपन्देहीलाई प्ले अफ पुग्न धनगढीविरुद्ध जितको आवश्यकता छ ।
यता, सोमपाल कामीको धनगढी सान्त्वना जित निकालेर प्रतियोगिता सकाउन चाहन्छ । सुरुवाती ३ खेलमा पराजय व्यहोरेको धनगढी प्रतियोगिताबाट बाहिरीसकेको छ । रुपन्देहीविरुद्धको खेल धनगढीका लागि प्रतिष्ठाको लडाई मात्र हुनेछ ।
४ खेलबाट १ अंक जोडेर धनगढी लिगको पुछारमा रहेको छ । यस्तोमा रुपन्देहीविरुद्ध धनगढीलाई कुनै डर हुने छैन । तर, प्ले अफ लक्ष्य बोकेको रुपन्देहीलाई धनगढीसंग पराजयको डर हुनेछ ।
सोमबार हुने दोस्रो खेलमा दिपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको अत्तरिया र करण केसीको विराटनगरबीच खेल हुनेछ ।दुईबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।
प्रतिस्पर्धाको लागि मैदान उत्रदा दुवै टोली स्पष्ट जितको खोजीमा रहनेछ । किनकि दुवै टोलीलाई प्ले अफ पुग्न यस खेल महत्वपूर्ण रहेको छ ।
अत्तरिया ३ खेलबाट ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । विराटनगरलाई पराजित अत्तरिया एक खेल अगाबै प्लेमा पुग्ने छ । पराजित भए अत्तरियालाई अन्तिम खेलसम्म पर्खनु पर्ने हुन्छ ।
४ खेलबाट ४ अंक जोडेर विराटनगर लिगको पाँचौ स्थानमा छ । विराटनगरलाई प्ले अफमा पुग्न अत्तरियाविरुद्धको अन्तिम खेल जित्नै पर्ने दबाब छ । पराजित भए विराटनगर प्रतियोगिताबाट बाहिरिने छ । यस्तै विराटनगर पराजित भए महेन्द्रनगर युनाईटेडलाई फाइदा पुग्नेछ ।