धनगढी । काठमाडौं गोल्डेन्सका कप्तान ज्ञानेन्द्र मल्लले शीर्ष स्थानमा रहदै धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको क्वालिफायर खेल्ने लक्ष्य रहेको बताएका छन् ।
फाप्ला क्रिकेट मैदानमा आइतबार रुपन्देही च्यालेन्जर्सलाई १०० रनको फराकिलो अन्तरले हराउँदै काठमाडौंले एक खेल अगाबै प्रतियोगिताको क्वालिफायरमा स्थान पक्का गरेको थियो ।
जितपछि कप्तान ज्ञानेन्द्रले बाँकी रहेको खेल जित्दै शीर्ष स्थानमा रहेर क्वालिफायरमा पुग्ने लक्ष्य रहेको बताए ।
'हामीले सुरुवात पावर प्लेमा राम्रो रन जोड्यौ । त्यसपछि बीचमा ब्रेक लागेको थियो । तर, १३० रन बढी बनाउन सक्दा खुसी लाग्यो,' कप्तान ज्ञानेन्द्रले भने, 'बलिङ पनि राम्रो भयो । त्यसैले उनीहरुलाई प्रेसर दिन सफल भयौं । अब एक खेल बाँकी छ । त्यो खेल जितेर शीर्ष स्थानमा रहने योजना छ ।'
यस्तै कप्तान ज्ञानेन्द्रले उपाधि योजना तत्काल नबनाएको बताउदै शीर्ष स्थानमा रहेर क्वालिफायर पुगेपछि बल्ल प्रतियोगिताको बारेमा योजना बनाउने बताए । अब काठमाडौंले अन्तिम खेलमा मंगलबार सीवाईसी अत्तरियासंग खेल्नेछ ।
कप्तान ज्ञानेन्द्रले भारतीय ब्याट्सम्यान अंकित दबासको उत्कृष्ट ब्याटिङले काठमाडौंलाई सहज भईरहेको बताए ।
'अंकितले राम्रो गरिरहेको छ । उनले इनिङ सम्हालीरहेका छन् । अन्य खेलाडी उनलाई पछ्याईरहेको छ । जसले हामीलाई सजिलो भईरहेको छ,' कप्तान ज्ञानेन्द्रले भने ।
काठमाडौंको जितमा प्लेयर अफ दि म्याच बनेका अंकितले सर्वाधिक ४३ रन बनेका थिए ।
त्यस्तै कप्तान ज्ञानेन्द्रले क्वालिफायरमा टिमको परिक्षा हुने बताए । उनले क्वालिफायर यो टिम परोस् भन्ने चाहाना नभएको बताउंदै आफ्नो लडाई आफैसंग हुने बताए ।