एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड पराजित भएको छ । आइतबार भएको खेलमा रियल मड्रिड जिरोनासंग २-१ गोल अन्तरले पराजित भएको हो ।
घरेलु मैदानमा १० खेलाडीमा सिमित रियलले सुरुवाती अग्रता जोगाउन नसक्दा पराजित भएको हो । जिरोनालाई जित दिलाउन क्रिस्थियन स्टुवानी र पोर्टुले एक एक गोल गरे । रियलका क्यासिमिरोले एक गोल गरे ।
खेलको २५ औं मिनेटमा क्यासिमिरोले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ६५ औं मिनेटमा स्टुवानीले पेनाल्टीमा गोल गर्दै जिरोनालाई खेलमा फर्काए । त्यसपछि खेलको ७५ औं मिनेटमा पोर्टुले गोल गर्दै जिरोनालाई २-१ को जित दिलाए ।
यस्तै खेलको इन्जुरी समयमा कप्तान सर्जियो रामोसले रातो कार्ड पाउदा रियल १० खेलाडीमा समेटिएको थियो ।
घरेलु मैदानमा जिरोनासंग पराजित भएसंगै रियलले लिगको दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । तेस्रो स्थानको रियलले २४ खेलबाट ४५ अंक जोडेको छ ।
जिरोना २७ अंकसहित लिगको १५ औं स्थानमा छ ।