एजेन्सी । ईङ्लिस क्लब म्यान्चेष्टर युनाईटेडले फ्रान्सली क्लब पीएसजीका स्टार नेयमारका लागि कीर्तिमानी मुल्य २ सय ६२ मिलियन पाउण्डको प्रस्ताव तयार पारेको छ ।
स्पेनिस पत्रिका डन बालोनले केयर टेकर प्रशिक्षक ओले गुनर सोल्सायर कीर्तिमानी मुल्यमा ब्राजिलका सुपर स्टार नेयमारलाई ओल्ट्राफोर्डमा ल्याउने तयारी गरेको बताएको छ । सोल्सायर क्लबले मुख्य प्रशिक्षकमा आएमा नेयमारलाई क्लबमा भित्राउने बिषयको प्रक्रिया अघि बढ्ने बताईएको छ ।
म्यान युनाईटेडको पछिल्लो तयारीलाई ठुलो परिवर्तनको रुपमा हेरिएको छ । जसले विश्व फुटबलमा लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो पछाडी नेयमारलाई मानिनेछ ।
नेयमारले १८ महिना अगाडी कीर्तिमानी मुल्य २ सय मिलियन पाउण्डमा स्पेनिस क्लब बार्सिलोनाबाट फ्रान्सेली क्लब पीएसजी पुगेका थिए ।
तर नेयमारको समय ठिक तरिकाले अगाडी बढेको छैन । उनी फ्रान्सेली भुमिमा अपेक्षित तरिकाले जम्न सकिरहेका छैनन ।
तर फ्रान्सेली लिगमा उनले गोल गर्न छाडेका भने छैनन । उनले ५३ खेलमा ४८ गोल गरेका छन् । फ्रान्सेली लिग वानमा शीर्ष स्थानको पीएसजीले फराकिलो अग्रता बनाउन सफल भएको छ ।
चोटका कारण नेयमार करिब दश हप्ता मैदान बाहिर छन् । म्यान युनाईटेडले नेयमारलाई कुनैपनि हालतमा ओल्डट्राफोर्डमा उतार्ने तयारी गरेको छ ।
नेयमार अनुपस्थित खेलमा गत मंगलबार मात्र पीएसजीले म्यान युनाईटेडलाई अन्तिम १६ को पहिलो लेगको खेलमा २–० ले पराजित गरेको थियो ।
नेयमारको बिषयमा स्पेनिस क्लब रियल मड्रिडले समेत अनुबन्धनको ईच्छा देखाईरहेको छ । उसले अहिले प्रिमियर लिग क्लब चेल्सीका स्टार ईडेन हजार्डमा आखाँ लगाईरहेको छ ।