धनगढी । काठमाडौं गोल्डेन्स तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ ।
आइतबार भएको खेलमा रुपन्देही च्यालेन्जर्सलाई १०० रनको फराकिलो अन्तरले हराउँदै काठमाडौंले एक खेल अगाबै प्रतियोगिताको क्वालिफायरमा स्थान पक्का गरेको हो ।
फाप्ला क्रिकेट मैदानमा काठमाडौंले दिएको १३४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको रुपन्देही १५ ओभर १ बलमा अलआउट हुँदै ३३ रनमा समेटियो । रुपन्देहीले बनाएको यो स्कोर डीपीएल क्रिकेटकै सर्वाधिक कम स्कोर हो ।
काठमाडौंका बलरले किफायती बलिङ प्रदर्शन गरेपछि रुपन्देहीका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । रुपन्देहीका सुमित महर्जनले सर्वाधिक ५ रन जोडे ।
यस्तै प्रदिप सिंह ऐरीले ४ तथा सन्दीप सुनार, पुनित मेहेरा, बाबर हायत र बिक्रम शोब समान ३/३ रनमा पेभेलियन फर्किए । कप्तान बसन्त रेग्मी २ रनमा आउट हुँदा बिनोद भण्डारीले १ रन जोडे ।
काठमाडौंका नन्दन कुमार यादवले ३ विकेट लिए । यस्तै काठमाडौंका ललित नारायण राजवंशी र सुर्य तामाङले २/२ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १३३ रन बनाएको थियो । काठमाडौंका लागि अंकित दबासले सर्वाधिक ४३ रनको योगदान दिए । यस्तै अनिल कुमार साहले २३ रन जोड्दा रशिद खानले अविजित १४ रन जोडे ।
त्यस्तै योगेन्द्र सिंह कार्कीले १३ तथा कप्तान ज्ञानेन्द्र मल्लले १२ रन बनाए । रुपन्देहीका बिक्रम शोब, अनिल खरेल र पुनित मेहेराले २/२ विकेट लिए ।
जितसंगै शीर्ष स्थानको काठमाडौंले ४ खेलबाट ७ अंक जोडेको छ । अब काठमाडौंले मंगलबार सीवाईसी अत्तरियासंग खेल्नेछ ।
४ खेलबाट २ जित र २ हार व्यहोरेको रुपन्देहीको ४ अंक छ । तेस्रो स्थानमा रहेको रुपन्देहीको पनि प्ले अफमा पुग्ने सम्भावना रहेको छ ।