धनगढी । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा काठमाडौं गोल्डेन्सले रुपन्देही च्यालेन्जर्सलाई जितका लागि १३४ रनको लक्ष्य दिएको छ ।
फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १३३ रन बनायो ।काठमाडौंका लागि अंकित दबासले सर्वाधिक ४३ रनको योगदान दिए । यस्तै अनिल कुमार साहले २३ रन जोड्दा रशिद खानले अविजित १४ रन जोडे ।
काठमाडौंका योगेन्द्र सिंह कार्कीले १३ तथा कप्तान ज्ञानेन्द्र मल्लले १२ रन बनाए । रुपन्देहीका बिक्रम शोब, अनिल खरेल र पुनित मेहेराले २/२ विकेट लिए ।
रुपन्देहीविरुद्ध मैदान उत्रदा अपराजित काठमाडौं तेस्रो जित निकाल्ने लक्ष्यमा रहेको छ । काठमाडौं ३ खेलमा ५ अंक जोडेर शीर्ष स्थानमा छ । त्यसैले रुपन्देहीलाई हराएर काठमाडौं प्ले अफमा पुग्न चाहन्छ ।
सुरुवाती दुई खेलमा जित निकालेको काठमाडौंले बर्षाको कारण तेस्रो खेलमा अंक बाडेको थियो ।
लिग लिडर काठमाडौंविरुद्ध मैदान रुपन्देहीको लक्ष्य तेस्रो जित नै रहेको छ । ३ खेलबाट २ जित र एक हार व्यहोरेको रुपन्देही तेस्रो स्थानमा छ ।
काठमाडौंलाई हराएर रुपन्देही प्ले अफमा पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ ।