धनगढी । महेन्द्रनगर युनाइटेडले तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा पहिलो जित निकालेको छ । आइतबार भएको खेलमा सिवाईसी अत्तरियालाई ७ विकेटले हराउँदै महेन्द्रनगरले पहिलो जित निकालेको हो ।
फाप्ला क्रिकेट मैदानमा बर्षाले भिजेको मैदानको कारण ढिला सुरु हुँदा ६ ओभरमा घटाईएको खेलमा अत्तरियाले दिएको ५५ रनको लक्ष्य महेन्द्रनगरले ५ ओभर ४ बलमा ३ विकेट गुमाएर पुरा गर्यो ।
महेन्द्रनगरका लागि आनन्द सुब्रमन्यमले सर्वाधिक १७ रन बनाए । यस्तै आरिफ शेख १५ रनमा अविजित रहे । मोहमद नाभिद ६, कप्तान शरद भेषवाकर ५ रनमा आउट हुँदा कुशल मल्ल ६ रनमा अविजित रहे ।
अत्तरियाका भुवन कार्कीले २ विकेट लिंदा दिपेन्द्र रावतले १ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले पुरै ६ ओभर खेल्दै ५ विकेट गुमाएर ५४ रन बनाएको थियो ।
अत्तरियाका लागि सन्नी पटेलले सर्वाधिक १९ रन जोडे । यस्तै जय किशन कोल्शवाला र कप्तान दिपेन्द्र सिंह ऐरीले समान १०/१० रन बनाए ।
भुवन कार्की र रित गौतम समान ४/४ रनमा अविजित रहे ।
महेन्द्रनगरका अविनाश बोहरा र सागर ढकालले २/२ विकेट लिए । कप्तान शरद भेषवाकरको नाममा एक विकेट रह्यो ।
जितसंगै महेन्द्रनगरले प्ले अफमा पुग्ने सम्भावना कायम राखेको छ । महेन्द्रनगरले ५ खेलबाट ४ अंक जोडेको छ । महेन्द्रनगर लिगको चौंथो स्थानमा समेत उक्लिएको छ । तर, महेन्द्रनगरले अब अन्य खेलको नतिजा कुर्नुपर्ने हुन्छ ।
महेन्द्रनगरसंगको हारसंगै अत्तरियाले २ खेल अगाबै प्ले अफमा पुग्ने मौका गुमाएको छ । तर, अत्तरियाको पनि प्ले अफ सम्भावना बलियो रहेको छ । पहिलो हार व्यहोरेको अत्तरियाको ३ खेलबाट ४ अंक रहेको छ ।