धनगढी । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग क्रिकेट (डीपीएल) मा आज आइतबार दुई खेल हुँदैछ ।
बर्षाले प्रभावित गरिरहेको डीपीएलमा आइतबार सिवाईसी अत्तरिया र महेन्द्रनगर युनाइटेड तथा काठमाडौं गोल्डेन्स र रुपन्देही च्यालेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ ।
फाप्ला क्रिकेट मैदानमा हुने पहिलो खेलमा अपराजित अत्तरियालाई महेन्द्रनगरले चुनौती दिनेछ । अत्तरिया र महेन्द्रनगरबीचको खेल बिहान ९ बजेबाट सुरु हुनेछ ।
महेन्द्रनगरविरुद्ध मैदान उत्रदा दिपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको अत्तरिया लगातार तेस्रो जितको खोजीमा हुनेछ । अत्तरिया २ खेलबाट ४ अंक जोडेर दोस्रो स्थानमा छ । त्यसैले अत्तरिया जित निकाल्दै प्ले अफमा पुग्न चाहन्छ ।
यता, शरद भेषवाकरको टिम महेन्द्रनगर पहिलो जितको खोजीमा हुनेछ । सुरुवाती दुई खेल गुमाएको महेन्द्रनगरले २ अंक जोडेको छ ।
महेन्द्रनगरको यो समूह चरणको अन्तिम खेल हो । महेन्द्रनगर अत्तरियाविरुद्ध जित निकाल्दै प्ले अफको झिनो सम्भावना कायम राख्न चाहन्छ । महेन्द्रनगरले पछिल्लो २ खेल बर्षाको कारण रद्द हुँदा एक एक अंक पाएको थियो । महेन्द्रनगरको प्ले अफ सम्भावना गणितीय रुपमा बाँकी रहेको छ ।
आइतबार हुने दोस्रो खेलमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौंलाई बसन्त रेग्मीको रुपन्देहीले चुनौती दिनेछ ।दुईबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।
प्ले अफमा पुग्ने सम्भावना बलियो रहेको दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन् ।
रुपन्देहीविरुद्ध मैदान उत्रदा अपराजित काठमाडौं तेस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ । काठमाडौं ३ खेलमा ५ अंक जोडेर शीर्ष स्थानमा छ । त्यसैले रुपन्देहीलाई हराएर काठमाडौं प्ले अफमा पुग्न चाहन्छ ।
सुरुवाती दुई खेलमा जित निकालेको काठमाडौंले बर्षाको कारण तेस्रो खेलमा अंक बाडेको थियो ।
लिग लिडर काठमाडौंविरुद्ध मैदान रुपन्देहीको लक्ष्य तेस्रो जित नै हुनेछ । ३ खेलबाट २ जित र एक हार व्यहोरेको रुपन्देही तेस्रो स्थानमा छ ।
काठमाडौंलाई हराएर रुपन्देही प्ले अफमा पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ ।