काठमाडौं । रुस्लान थ्री स्टार क्लब भुटानमा जारी जिग्मे दोर्जी बाङ्गचुक स्मृति गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । शनिबार भएको खेलमा थ्री स्टारले भुटानको उग्येन एकेडेमीलाई सडन डेथमा ५-४ गाेलले पराजित गर्दै थ्री स्टार अन्तिम ४ मा प्रवेश गरेको हो ।
बर्षाले प्रभावित भएको खेलको निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । खेलमा सुरुवाती गोल उग्येन एकेडेमीले गर्यो । यसी दोर्जेले गोल गर्दै भुटानी टोलीलाई अग्रता दिलाए । उनले ६० औ मिनेटमा थ्रीस्टारका तीन डिफेन्डरलाई बिट गर्दै गोल गरेका थिए ।
त्यसको ५ मिनेटपछि थ्री स्टारका मिक्छेन तामाङले बराबरी गोल फर्काए । बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका उनले थ्री स्टारलाई खेलमा फर्काएका थिए । अनन्त तामाङको पास सदुपयोग गर्दै उनी गोल गर्न सफल भए ।
सडन डेथमा थ्री स्टारको लागि अनन्त तामाङले गोल गरे । यस अघि रन्जित धिमाल, बुद्ध लिम्बु, सुनिल बल, रुपेश के सी गोल गर्दा दिनेश राजबंशी भने पेनाल्टी गोल गर्न चुकेका थिए ।
प्रतियोगितामा थ्रीस्टारले बाई पाएर सिधै क्वार्टरफाइनल खेलेको हो । नेपाली टिम आर्मीले पहिलो खेलमा शुक्रबार फराकिलो जित सहित प्रतियोगिताको सुखद सुरुवात गरेको थियो ।
नेपालबाट थ्री स्टार र आर्मी प्रतियोगितामा सहभागि छन् । थ्री स्टारले युनार्इटेड ब्रदर्स र रोयल फुटबल क्लब भारतबीचको विजेतासँग खेल्नेछ ।
प्रतियोगितामा नेपालका दुई क्लब, भारतका ४ क्लब गरि १२ क्लब रहेका छन् ।