धनगढी । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तर्गत धनगढी स्टार्स र महेन्द्रनगर युनाईटेडबीचको खेल रद्द भएको छ ।
बिहिबारबाट परेको बर्षाको कारण मैदानमा पानी जमेपछि शनिबार तय भएको धनगढी र महेन्द्रनगरबीचको खेल रद्द भएको हो । यसअघि शनिबार नै तय भएको विराटनगर किंग्स र काठमाडौं गोल्डेन्सबीचको पहिलो खेल पनि रद्द भएको थियो ।
डीपीएल एम्पायरले फाप्ला क्रिकेट मैदानको आउटफिल्डमा जमेको पानीले गर्दा खेल खेलाउन नमिल्ने जनाएपछि खेल टस नहुँदै रद्द भएको हो । खेल रद्द भएपछि धनगढी र महेन्द्रनगरले एक एक अकं बाँडेका छन् ।
महेन्द्रनगरविरुद्धको खेल रद्द भएसंगै साबिकको बिजेता धनगढी प्रतियोगिताबाट बाहिरिएको छ । सुरुवाती ३ खेलमा लगातार हार व्यहोरेपछि धनगढी बाहिरिएको हो । दुई संस्करणको बिजेता धनगढी पहिलो पटक प्ले अफ नपुग्दै बाहिरिएको हो ।
सोमपाल कामीको नेतृत्वमा रहेको धनगढीले ४ खेलबाट १ अंक जोडेको छ । लिगको पुछारमा रहेको धनगढीले अब एक खेल खेल्नेछ ।
महेन्द्रनगरको ४ खेलबाट २ अंक छ । शरद भेषवाकरको टिम महेन्द्रनगरको भने प्ले अफ सम्भावना रहेको छ ।