काठमाडौं । राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिब केशब कुमार बिष्टले महिला क्रिकेट खेलाडीको तलब भत्ताका लागि अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीसंग प्रस्ताब गर्ने बताएका छन् ।
आईसीसी वुमन्सको एसिया छनोट खेल्ने नेपाली महिला टिमलाई शनिबार बिदाई गर्दै उनले महिला क्रिकेटरलाई तलब भत्ता उपलब्ध गराउन राखेपले आईसीसीसंग तत्काल पहल गर्ने जनाएका हुन् ।
‘हामीसंग जे जति उपलब्ध छ, त्यसैमा मेहनत गर्नुपर्ने छ । सबै आवश्यकता कसैको पनि पुरा हुदैन । एउटा पुरा भए अर्को थपिन्छ ।’ उनले भने, ‘महिला क्रिकेटरको तलब सुविधाका लागि आईसीसीसंग आज भोलीनै पहल गर्नेछु ।’
सदस्य सचिव बिष्टले ईच्छा शक्ति र मनोबल उच्च भएमा कुनैपनि ठुलो देशलाई पराजित गर्न सकिने भन्दै खेलाडीको हौसला बढाएका थिए ।
महिला फुटबलले प्राप्त गरेको नतिजाको उदाहरण दिदै उनले छनोट खेलमा उच्च मनोबलका साथ मैदान उत्रन आग्रह गरेका थिए ।
कार्यक्रममा महिला क्रिकेटका मुख्य प्रशिक्षक बिनोद दास र कप्तान रुबिना क्षेत्रीले प्रशिक्षण राम्रो भएकाले नेपालको तगारो बन्दै आएको थाइल्याण्डलाई पराजित गर्ने लक्ष्य रहेको बताए ।
पुरुष क्रिकेट टिमका मुख्य प्रसिक्षक जगत टमटाले मनोबल उच्च राख्दै देशका लागि खेल्न र पुरुषले जस्तै उपलब्धी हात पार्न सुझाब दिए ।
प्रतियोगिता खेल्न थाईल्याण्ड जाने महिला टिम र अफिसियललाई राखेप सदस्य सचिव केशवकुमार विष्टले बिदाई गरेका छन् । नेपाली टोली आजै (शनिबार) दिउँसो १ बजेर ५० मिनेटमा थाई एयरबाट प्रतियोगिता खेल्न प्रस्थान गर्नेछ ।
प्रतियोगिता थाईल्याण्डमा फब्रुअरी १६ बाट १७ गतेसम्म थाईल्याण्डमा आयोजना हुदैछ ।
नेपाली टिममा कप्तान क्षेत्रीसंगै उप कप्तान सिता राना मगर, करुणा भण्डारी, सरिता मगर, नेरी थापा, ईन्दु बर्मा, सोनु खड्का, आरती बिडारी, काजल श्रेष्ठ रहेका छन् । त्यस्तै, रोमा थापा, कबिता कुवँर, अप्सरा बेगम, ममता चौधरी र बिन्दु रावल छन् । मुख्य प्रशिक्षकमा बिनोद दास, सहायक प्रशिक्षकमा निरा राजोपाध्याय, म्यानेजरमा अमृता पौडेल र फिजियोमा सकुना धानी छन् ।
प्रतियोगिताका लागि चार जना रिजर्भ खेलाडी समेत समावेश गरिएको छ । रिजर्भ खेलाडीमा रितु कुमारी कनुजिया, सुमन विष्ट, अन्जली चन्द र डोली भट्ट छन् ।