काठमाडौं । तिलोत्तमा गोल्डकपको २१ औ संस्करण आज (शनिबार) सुरु हुदैछ । रुपन्देहीको बुटबलस्थित एन्फा टेक्निकल सेन्टरमा हुने प्रतियोगिता नकआउटका आधारमा सञ्चालन गरिनेछ ।
प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टिम एपीएफ र झापा ११ बीच प्रतिस्पर्धा हुनेछ ।
उद्घाटन खेल दिउँसो साँढे २ बजे सुरु हुनेछ । दुवै टोली जित निकाल्दै क्वार्टरफाईनलको यात्रा तय गर्न चाहन्छन् ।
मोफसलमा फिदिम गोल्डकप खेलेको झापा पहिलो पटक तिलोत्तमा गोल्डकप खेल्न लागेको हो । एपीएफ भने मनकामना केबलकार पोखरा कपको उपविजेता टोली हो ।
आजको विजेताले बुधबार क्यामरुनको दाउफिन्समा सामना गर्नेछ ।
रुपन्देही जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगिता फागुन १३ गते समापन हुनेछ ।
प्रतियोगिताको विजेताले ८ लाख ८० हजार पाउनेछ । उपविजेता टिमले ५ लाख ५० हजार प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले एक थान मोटरसाईकल प्राप्त गर्ने आयोजकले जनाएको छ ।