धनगढी । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग क्रिकेट (डीपीएल) मा आज शनिबार दुई खेल हुँदैछ ।
शनिबार विराटनगर किंग्स र काठमाडौं गोल्डेन्स तथा दोस्रो खेलमा धनगढी स्टार्स र महेन्द्रनगर युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ । तर, शनिबार हुने काठमाडौं र विराटनगरबीचको पहिलो खेल हुने सम्भावना न्यून रहेको छ । बर्षाको कारणमा मैदानमा पानी जमेपछि शनिबारको पहिलो र दोस्रो खेल प्रभावित हुने देखिएको छ ।
फाप्ला क्रिकेट मैदानमा हुने पहिलो खेलमा विराटनगरले अपराजित काठमाडौंलाई चुनौती दिनेछ । विराटनगर र काठमाडौंबीचको खेल बिहान ९ बजेबाट सुरु हुनेछ ।
काठमाडौंविरुद्ध मैदान उत्रदा करण केसीको विराटनगर दोस्रो जितको खोजीमा हुनेछ । विराटनगर ३ खेलबाट ३ अंक जोडेर चौंथो स्थानमा छ । विराटनगरले एक खेलमा जित, एक खेल हार र एक खेल बराबरी खेलेको छ ।
यता, ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं लगातार तेस्रो जितको खोजीमा हुनेछ । र, प्ले अफमा पग्न चाहन्छ । काठमाडौं २ खेलबाट ४ अंक जोडेर लिगको दोस्रो स्थानमा छ । विराटनगरविरुद्ध जित निकाले काठमाडौंले प्ले अफ पक्का गर्नेछ ।
यस्तै शनिबार हुने दोस्रो खेलमा सोमपाल कामीको धनगढी र शरद भेषवाकरको महेन्द्रनगरबीच खेल हुनेछ । दुईबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।
धनगढी र महेन्द्रनगर दुवै टोली पहिलो जितको खोजीमा हुनेछ । साबिकको विजेता धनगढीले ३ खेलमा पराजय व्यहोरेको छ । र, लिगको पुछारमा रहेको छ । महेन्द्रनगरविरुद्ध जित निकाल्दै धनगढी प्ले अफ सम्भावना कायम राख्न चाहन्छ । पराजित भए धनगढी समूह चरणबाट बाहिरिने छ ।
महेन्द्रनगरलाई समेत प्ले अफ पुग्ने सम्भावना बलियो बनाउन धनगढीविरुद्ध जित निकाल्नु पर्ने हुन्छ । पराजित भए महेन्द्रनगरको प्ले अफ सम्भावना कमजोर बन्नेछ । महेन्द्रनगरले ३ खेलबाट २ हार र एक बराबरी खेलेको छ। महेन्द्रनगरको एक अंक छ ।