काठमाडौं । भुटानमा जारी जिग्मे दोर्जी बाङ्गचुक स्मृति गोल्डकप फुटबल प्रतियोगितामा नेपालको त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ ।
शुक्रबार भएको पहिलो क्वार्टरफाइनल खेलमा आर्मीले भुटानको थिम्पु सिटीलाई ६–० को फराकिलो गोल अन्तरले पराजित गर्याे । जितसंगै आर्मी प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ ।
आर्मीको जितमा कप्तान भरत खवासले दुई गोल गरे । नवयुथ श्रेष्ठ, विमल पाण्डे र सन्तोष तामाङले एक–एक गोल गर्दा एक गोल भने उपहार स्वरुप प्राप्त गर्याे ।
खेलको सुरुवाती समयबाटै थिम्पु सिटीलाई दवाबमा राखेको आर्मीले पहिलो हाफमै ४ गोल गरेको थियो ।
खेलको ५ मिनेटमै कप्तान भरख खवासको हेडिङ मार्फत अग्रता दिलाए । यस्तै खेलको ३१ औ मिनेटमा नवयुग श्रेष्ठले अग्रता दोब्बर बनाए । खेलको ३६ मिनेटमा कप्तान भरत खवासले ब्यक्तिगत दोस्रो र टिमको लागि तेस्रो गोल गरे ।
उनले थिम्पु सिटीका चार डिफेन्डर र किपर बिट भएको अवस्थामा गोल गरेका थिए । खेलको ४५ मिनेटमा विमल पाण्डेले गोल गर्दै आर्मीलाई पहिलो हाफमै ४–० को अग्रता दिलाए । उनले सन्तोष तामाङले कर्नर मार्फत मिलाएको बलमा हेडिङ गोल गरेका थिए ।
दोस्रो हाफमा आर्मीले २ गोल गर्याे । उसका लागि खेलको ७७ मिनेटमा सन्तोष तामाङले गोल गरे । खेलको ८५ मिनेटमा आर्मीले उपहार स्वरुप एक गोल प्राप्त गर्याे ।
आजको विजेताले नेपालका गोलकिपर अर्पण कार्की सम्मिलित पारो फुटबल क्लगसँग खेल्नेछ ।
प्रतियोगितामा नेपालका दुई क्लब, भारतका ४ क्लब सहित १२ क्लब रहेका छन् ।