काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमले तीन महिनाको अन्तरालमा तेस्रो पटक म्यानमारको प्रतिस्पर्धा गर्दैछ, हिरो गोल्डकप फुटबलमा । यसअघि भएको दुई खेलमा नेपाली टिमले म्यानमारविरुद्ध मिश्रित नतिजा आत्मसाथ गरेको थियो ।
सन् २०२० मा जापानमा आयोजना हुने ओलम्पिक छनोटको पहिलो चरणको खेलमा नेपालले आयोजक म्यानमारसँग १–१ को गोलको बराबरी खेलेको थियो ।
म्यानमारसँगको त्यो पहिलो भेटमा नेपालले सुरुवाती तीन मिनेटमा सावित्रा भण्डारीको गोलमार्फत अग्रता लिएको थियो ।
तर पहिलो हाफमा गोल गर्दै म्यानमारले खेल बराबरी गरेको थियो । कात्तिक २५ गते भएको सो खेल पछाडी नेपालले हिरो महिला गोल्डकपमा म्यानमारको सामना गर्याे ।
शनिबार भएको उद्घाटन खेलमा नेपाली टिम म्यानमारसँग ३–० ले स्तब्ध बन्यो ।
सुरुवातबाटै नेपाललाई दवाबमा राखेको म्यानमारका लागि खिम माई आईले दुई गोल गरिन । अर्को गोल विन थेइ तुनको नाममा रह्यो ।
तेस्रो पटकको भेटमा नेपाल उपाधि भिडन्तमा म्यानमारविरुद्व उत्रदैछ । नेपाललाई लिग चरणको पहिलो खेलमा ब्यहोरेको हारको बदला लिने अवसर समेत छ । अन्तराष्ट्रिय फुटबलमा पहिलो उपाधि जितेर अर्को ईतिहास लेख्ने महिला टिमलाई मौका मिलेको छ ।